काठमाण्डाै। ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकिएको छ । निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माणका लागि थालिएको काम रोकिएको हो । तर, साे फ्निलाईओभर निर्माणका लागि सडककाे कालोपत्रे उप्काइएको छ ।
सडकबीचमा राखिएको डिभाइडर पनि हटाइएको छ । पाँच महिनाअघि गएको माघ २८ मा फ्लाइओभर निर्माणको काम थालिएको थियो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार फ्लाइओभर बनाउने क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको हो । अब प्राविधिक समस्या पहिचान र समाधान गरी काम अगाडि बढाउने विभागले जनाएको छ ।

महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको बताए । अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि अरु काम भइरहेको उनको भनाइ छ । यो फ्लाइओभर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी एम/एस आशिष–समानान्तर (जेभी) ले ठेक्का पाएको थियो ।
फ्लाइओभर १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँ लागतमा बनाउने तयारी भएको थियो ।










