काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस कार्यसम्पादन समितिले यस्तो निर्णय गरेको हो ।
तर, केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी र बलबहादुर केसीले भने ‘असहमति’ जनाएका छन् । चार नेताले सत्ता र प्रतिपक्षको सुनिश्चितता नभएको हुँदा आफूहरुको ‘असहमति’ रहेको बताए ।

यसअघि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले विगतको समझदारीअनुरुप प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिँदा गल्ती भएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।
उनले पार्टी पहिलो भएर पनि प्रतिपक्षमा बस्नुपर्दा केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्ने अवस्था आएको भन्दै विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।
कतिपय पदाधिकारीले विश्वासको मत दिएपछि पुरानै अवस्था फर्काउने ग्यारेन्टीका विषयमा जिज्ञासा राखेका थिए । निर्णय कार्य सम्पादन समितिबाट गराउने तयारीसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सकिएको थियो ।
धुम्बाराहीमा बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने कांग्रेस प्रतिपक्षमा बस्न तयार हुनुपर्ने धारणा राखे । अहिले विशेष परिस्थिति निर्माण भएको भन्दै कांग्रेसले पक्षमा मत दिने निर्णय गरेको हो ।
यस्तै, माधवकुमार नेपाल नेतृत्वको पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेको छ । अब सात दलबाहेक कांग्रेस र एकीकृत समाजवादीले पनि प्रचण्डलाई मत दिएमा २६० बढी मत प्राप्त गर्ने भएको छ ।
हाल संसद्मा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच जना स्वतन्त्र सांसद छन् ।
स्वतन्त्रमा तीनजना सत्तापक्षको बेञ्चमा उभिइसकेका छन् भने एकजना नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले मत दिने बुझिन्छ ।










