काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को अधिवेशन आज सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग-अलग सञ्चालन हुनेछन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।










