काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि बिछ्याइएको पाइपमा क्षति पुग्ने क्रम रोकिएको छैन ।
मेलम्चीको पानी नियमित रुपमा वितरण नहुँदै आयोजनाको पानी बाँड्न बिछ्याएको २४ करोड ३१ लाख रुपैयाँ बराबरको पाइपमा विभिन्न कारणले क्षति पुगेको छ ।

सडक निर्माण गर्दा पर्याप्त सावधानी अपनाउन नसक्दा खानेपानीको थोक वितरण प्रणाली र वितरण सञ्जाल सुधारअन्तर्गतका ८ प्याकेजका निर्माण व्यवसायीले पाइप बिछयाई पुर्ने कार्यसमेत सम्पन्न गरेपछि सडक मर्मत तथा सुधार गर्ने क्रममा पाइपहरू नोक्सान गरेको पाइएको महालेखा परीक्षकको कार्यलयले जनाएको छ ।
नोक्सान भएका पाइपको मूल्य, बिछ्याउने, पुर्ने र जडान खर्च समावेश गरी निर्देशनालयले पाइपलाइन क्षतिको गत वर्षसम्म १८ करोड ४१ लाख ७३ हजार रुपैयाँ मूल्यांकन गरेकोमा आर्थिक वर्ष २०७७र७८ मा ५ करोड ८९ लाख ३९ हजार थप भई जम्मा रू। २४ करोड ३१ लाख १२ हजार मूल्यांकन गरेको महालेखाको ५९औं प्रतिवेदनले जनाएको छ ।










