काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् ।
शुक्रबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताए । ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन’, उनले भने ।

स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले एमाले दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएकोबाट एमाले एमाले नै रहने पनि उनले बताए । ‘थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ’, उनले भने । आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास पनि उनले व्यक्त गरे ।










