काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्री झाँक्री र मेयर बालेन्द्रले गरेको प्रयासको प्रशंसा गरेका हुन् ।
काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला मन्त्री झाँक्री र मेयर शाहले गरेको प्रयत्न सकारात्मक भएको उनले बताए । तर, फोहोर व्यवस्थापनका लागि सम्झौता भएपछि पनि आज अवरोध भएको खबर आएको भन्दै थापाले स्थायी समाधानका लागि पहल गर्नुपर्ने पनि बताए ।

‘सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकामा अहिले नयाँ नेतृत्व छ । यी दुवै नेतृत्वले प्रशंसायोग्य काम गरिरहनुभएको छ र फोहोर उठ्न थाल्यो भन्ने कुरा हामीले सुन्यौँ । तर आज फेरी अवरोध भयो भन्ने सुनेको छु । फोहोरको समस्या समाधानमा कहाँ समस्या परेको हो सहरी विकास मन्त्रीले संसद्लाई भन्नुहोला, हामी सहयोग गर्न चाहन्छौँ’, थापाले भने ।










