काठमाडौँ । महोत्तरीबाट काठमाडौं आएको बसलाई नागढुंगामा रोकेर चेकजाँच गर्दा एक झोला लागुऔषध भेटियएको थियो । जेठ १२ मा चालक सिटसँगैको क्याबिन तल लुकाएर काठमाडौं ल्याउँदै गरेको ३ हजार एम्पुल लागुऔषधको भरिया चाहिँ बसमा नभेटिएको प्रहरीले जनाएको छ ।
यात्रु कसैले ‘मेरो सामान’ भनेनन् । बसका चाकलाई सोधपुछ गर्दा थाहा भयो सो लागुऔषधको झोला महोत्तरीबाट ४२ वर्षका पप्पु साहले हालेका रहेछन् । झोलाबाट डाइजेपाम, फेनारगन, लुपिजेसिक र नुर्फिन बरामद गरिएको छ । धनुषा घर भएका साहलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीसँगको समन्वयमा महोत्तरीबाट तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

सो लागुऔषध धनुषा नगराइन नगरपालिका घर भएका २९ वर्षीय सुधीर झा उर्फ बुलेटले पठाएको पप्पुको बयानबाट खुलेको छ । धनुषा प्रहरीको सहयोगमा जेठ १४ मा प्रहरी वृत्त थानकोटले ‘बुलेट’लाई पनि पक्राउ गरेर काठमाडौं ल्याएको छ । उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।










