काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । पूर्व स्थायी समितिको बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।
‘अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह भइसकेपछि अर्को पक्षले विवाद निकालेको रहेछ । किन संगठनमा समस्या आयो रु भन्ने विषयमा दुबै पक्ष बसेर छलफल गर्ने निर्णय भयो’ पोखरेलले भने, ‘दुवै पक्षको कुरा सुन्ने छलफल गर्ने र विवाद समाधान गर्ने भनिएको छ ।’

अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह भएपछि पवन कार्की पक्षले विवाद निकालेको हो । तत्कालीन संगठनका सचिव कार्की महासचिव हुन खोजेका थिए । कार्कीलाई उपाध्यक्ष बनाएर महासचिवमा दीपेश पुनलाई बनाएपछि उनले छुट्टै भेला गर्दै आएका छन् । संगठन विपरित गतिविधि गरेको भन्दै अध्यक्ष सिंहले कार्कीलाई स्पष्टीकरण समेत सोधकी थिइन् । कार्कीले स्पष्टीकरणको जवाफ नदिएर अटेर गरेका थिए । उल्टै संगठनको निर्णय विपरित आइतबार उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम राखेका थिए ।










