काठमाडौँ । जिल्ला कारागार शाखा खोटाङमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अभाव भएको छ । अनुगमनका क्रममा उनीहरुलाई औषधि अभाव भएको पाइएको हो ।
पुरुष ६६ र महिला ३३ गरी ९९ अटाउने क्षमताको कारागारमा तोकिएको क्षमताभन्दा बढी कैदीबन्दी छन् । तोकिएको भन्दा बढी कैदीबन्दी भएका कारण निःशुल्क उपलब्ध हुँदै आएको औषधि अभाव भएको हो । औषधि सकिएपछि अहिले आफ्नै खर्चमा खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताएको अनुगमनमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । औषधि सकिए पनि सम्बन्धित निकायले ध्यान नदिएको कैदीबन्दीको आरोप छ ।











