उमेश भुजेल- खोटाङ। खोटाङका १० स्थानीय तह मध्ये ५ स्थानीय तहका आइसोलेसन वेडमा अझै पनि अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । कोरोना संक्रमणका कारण दैनिक सक्रिय संक्रमितको संख्या थपिदै गर्दा हालसम्म स्थानीय तहका आइसोलेसनमा अक्सिजन सहितको सुविधा नभएको हो । जिल्लाको रावाबेसी गाउँपालिकामा संक्रिय संक्रमितको संख्या १५ जना पुग्दासम्म गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन अस्पताल बनाएको छैन ।
कोरोना रोकथाम तथा न्युनिकरणका लागि गाउँपालिका २ पटक शिल गर्दा पनि गाउँपालिकाले आइसोलेन वेडसम्म तयार गर्न नसकेको गाउँपालिकाका सुचना अधिकारी विनोद राइले बताए । गाउँपालिकाको वडा नं २ खार्पा स्वाथ्य चौकी र गाउँपालिका केन्द्र रहेको हरमटारमा सुविधा युक्त आइसुलेसन भएको अस्पताल निमार्ण गरिरहेको स्वास्थ्य शाखा संयोजक राजकुमार रेग्मीले जानकारी दिए । जिल्लाको ऐशेलुखर्क गाउँपालिकामा कोरोना संक्रमणकै कारण एकजनाको ज्यान गएको छ ।
गाउँपालिकाले २० वेडको आइसोलेसन अस्पताल निमार्ण गरि कोरोना संक्रमितहरुलाई उपचार गर्न थालिसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक रामकाजी नेपालले बताए । गाउँपालिको केन्द्र ऐशेलुखर्कमा निमार्ण गरिएको कोरोना अस्पतालमा आठ ओटा अक्सिजन सिलिन्डर र तिन ओटा कन्सन्ट्रेटर रहेको स्वास्थ्य शाखा संयोजक नेपालले जानकारी दिए । अन्य वेडको लागि अक्सिजन सिलिन्डर ल्याउने विशेष पहल भइरहेको उनको भनाइ छ ।
हालसम्म गाउँपालिकामा १६ जना कोरोना संक्रमित मध्ये १ जनाको मृत्यु भइसकेको छ । जिल्लाको जन्तेढुंगा, खोटेहाङ, बराहापोखरी र केपीलासगाढी गाउँपालिकाले हालमा कोरोना संक्रमितको उपचारका लागि भन्दै आइसोलेसन अस्पताल निर्माण गरेका छन् । तर यि सबै पालिकाले तयार पारेका आइसोलेसन अस्पतालमा कोरोनाका सामान्य बिरामीको मात्रै उपचार सम्भव छ । जटिल प्रकृतिका बिरामीलाई अक्सिजन दिनुपरेमा त्यहाँ अक्सिजनको सुविधा छैन । कोरोना अस्पतालको लागि अक्सिजन सिलिन्डर खरिद गर्न खोज्दा पनि नपाइएको जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर बहादुर राइले बताए ।
जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रको केपिलाशगढी र वहारापोखरी गाउँपालिकाले ११ बेडको आइसोलेसन तयार पारी स्वाथ्यकर्मी तयारी अवस्था भए पनि अक्सिजन सिलिन्डर र एम्बुलेन्स पनि नभएको केपिलासगढी गाउँपालिकाका स्वस्थ्य शाखा संयोजक शिव कुमार राईले बताए । जिल्लाको दिक्तेलरुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, दिपु्रङचुइचुम्मा, शाकेला गाउँपालिकाले भने कोरोना अस्पतालको निमार्ण गरेर अक्सिजन सिलिन्डर प्रयोग गरि सेवा दिइरहेको छ ।
६ वटा वडा रहेको जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सबै भन्दा धेरै २५ ओटा अक्सिजन सिलिन्डर र प्रयाप्त स्वास्थ्यकर्मी रहेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए । विरामीलाई ओसारपसार गर्नको लागि गाउँपालिकाले एउटा एम्बुलेन्स पनि तयारी अवस्थामा रहेको स्वास्थ्य शाखा संयोजक मुस्तात अहमद मन्सुरीको भनाई छ । जिल्ला सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका र प्रसिद्ध धार्मिक स्थल रहेको हलेसी तुवाचुङ नगरपालिकाले भने ३२ वेडको आइसोलेसन तयार पारे पनि हाल १८ बेडमा अक्सिजन सिलिन्डर सहितको आइसोलेशन वेड तयार पारेको दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका स्वास्थ्य शाख प्रमुख तिर्थ आचार्यले बताए ।
जिल्लाको सबै भन्दा धेरै कोरोना संक्रमित भएको स्थानीय तह भएका कारणले एउटा एम्बुलेन्स, मेयर दिपनारायण रिजाल र उपमेयर विणा देवी राईले प्रयोग गर्दै आएको गाडीलाई पनि एम्बुलेन्सकै रुपमा प्रयोग गरिएको उनले जानकारी दिए । यस्तै हलेसी तुवाचुङ नगरपलिकाले भने उपमेयर विमला राईले प्रयोग गर्ने गाडीलाई हाल एम्बुलेन्सकै रुपमा प्रयोग गरेको र आवश्यक परे नगरपालिकाको अर्को गाडी पनि प्रयोग गर्ने मेयर इवन राईले बताए । नगरपालिकामा हलसम्म चार वेडमा अक्सीजन सहितको वेड तयारी अबस्थामा रहेकको बाकी अन्य अक्सिजन सिलिन्डर जुन सुकै समयमा पनि सेट गर्न तयार रहेको स्वाथ्य शाखा प्रमुख राम कुमार भगतले बताए ।
साकेला गाउँपालिकामा भने ८ ओटा अक्सिजन सिलिन्डर रहेको स्वाथ्य शाखा संयोजक रिता ढकालले बताइन् । जिल्ला अस्पताल दिक्तेलमा भने १० वटा अक्सिजनसहितको सिलिन्डर रहेको जिल्ला अस्पताल दिक्तेलका मेडिकल अधिकृत डा. वैभव मल्लीकले बताए । विरामीको चाप वढेमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकासंग संमन्वय गरि नगरपालिकाले निमार्ण गरेको कोरोना अस्पतालमा व्यवस्थापन गरिने उनले बताए ।










