उमेस भुजेल – जेठ ४,खोटाङ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पिसिआर परीक्षण गरेको रिपोर्ट नबुझाई गाउँपालिका प्रवेश गर्ने भन्दै एक सवारी साधनलाई नियन्त्रणमा लिएको छ । काठमाण्डौंबाट स्थानीय बोकी गाउँपालिका प्रवेश गरेको बा १३ च ५३८५ नम्बरको निजी गाडीलाई गाउँपालिकाले मंगलबार नियन्त्रणमा लिएको हो । गाडी निजी भए पनि गाउँपालिकाको वडा नं ६ छितापोखरीका ८ जना व्यक्तिलाई भाडामा लियर पञ्चमी बजार आउदै गर्दा गाउँपालिकाले नियन्त्रण गरेको गाउँपालिका अध्यक्ष भुपेनद्र राईले बताउनु भयो ।
नियन्त्रण लिएको गाडीको पासको कुनै पनि शिफारीस नभएको हाउँको भनाई छ । गाडीमा आएका स्थानीयलाई छितापोखरीका वडा अध्यक्ष मिलन राईको रोहबरमा १० दिनसम्म होम आइसोलेसनमा वस्ने शर्तमा छोडीएको छ भने उक्त गाडीको विल–बुक र चाँबी गाउँपालिकाले नियन्त्रणमा लिएको अध्यक्ष राईले बताउनु भयो ।

कोरोना भाइरस कोभिट १९ रोकथाम तथा नियन्त्रण समितीको गत वैशाख २२ गतेको निर्णयमा गाउँपालिका भन्दा बाहिरबाट गाउँपालिका प्रवेश गर्ने स्थानीयलाई ७२ घण्टा भित्रको पिसिआर परीक्षण गरेको रिपोर्ट बुझाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको थियो । उक्त निर्णयमा पिसिआर परिक्षण गरेको रिपोर्ट पेश गरेर पालिकाभित्र प्रवेश गर्ने व्यक्तिले थप १० दिन होम आइसुलेनमा बस्नुपर्ने गाउँपालिकाले जनाएको छ ।











