क्याटलान क्लब बार्सिलोनाका डेनिस फरवार्ड मार्टिन ब्रेथवेट कम्तीमा चार महिना मैदान बाहिर रहने भएका छन् । दुई साताअघि गेटाफेमाथि २–१ को जित निकालेको खेलमा ब्रथेवेटले चोट बोक्न पुगेका थिए ।

चोटकै कारण ३० वर्षीय ब्रेथवेटले अन्तर्राष्ट्रिय ब्रेकमा युरोपियन छनोटका खेल गुमाएका थिए । उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएकाले चोट निको हुन कम्तीमा पनि तीन महिना बढी र खेलमा फर्कन एक महिना लाग्ने बताइएको छ ।
ब्रेथवेटले यो सिजनको सुरुवाती तीन खेलमा दुई गोल र एक असिस्ट दिदै उच्च प्रदर्शन गरेका थिए ।
बार्सिलोनाले फरवार्ड ब्रेथवेट अन्तर्राष्ट्रिय ब्रेकपछि खेलमा फर्कने विश्वास गरेको थियो । तर, आइतबार गरिएको परिक्षणमा उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएपछि उनी लामो समय मैदान बाहिर रहनुपर्ने भएको हो । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।
ब्रेथवेटको चोटसँगै बार्सिलोनालाई थप झट्का हुने भएको छ । यसअघि ओस्मान डेम्बेले, सर्जियो अगुइरो र अन्सु फाती टोलीबाट बाहिरिसकेका छन् । डेडलाइन डेमा अर्काे फरवार्ड एन्टोइन ग्रिजमन पनि एट्लेटिको म्याड्रिड फर्किएपछि अब रोनाल्ड कोम्यानको टोलीलाई मेम्फिस डिपाए र लुक डि योङमा भरोसा रहेको छ ।
बार्सिलोनाले मंगलबार राति च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा जर्मन च्याम्पियन बायर्नसँग खेल्दैछ । उक्त खेलमा लुक डे योङले नै टोलीको अग्रपंक्ति सम्हाल्ने देखिन्छ ।










