नेपालमा निषेधाज्ञा खुले पनि कोरोनाभाइरस सङ्क्रमण कम हुँदै जानुमा मानिसहरूमा खोप र सङ्क्रमणका कारण विकास भएको भाइरस प्रतिरोधी क्षमता प्रमुख भएको विज्ञहरूले बताएका छन्।
नेपालमा पछिल्लो तीन दिनयता कोभिड सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

पछिल्लो दुई सातायता सङ्क्रमण दर १४ प्रतिशतभन्दा कम कायम रहेको देखिन्छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पछिल्लो समय सङ्क्रमण पुष्टि हुने दर र सङ्क्रमितको सङ्ख्या दुवै घटेको बीबीसीलाई बताएका छन्।
मन्त्रालयका अनुसार लगातार चार दिनदेखि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ३० हजारभन्दा कममा सीमित भएको छ।
कोभिड सङ्क्रमणको दोस्रो लहर उच्चबिन्दुमा पुग्दा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या एक लाखभन्दा माथि थियो भने दैनिक सङ्क्रमण पुष्टि दर ३० प्रतिशतसम्म पुगेको थियो।

कोभिड सङ्क्रमण घट्नुको कारण
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी सङ्क्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको बताउँछन्।
“मन्त्रालयले गरेको सीरो प्रेभलन्स सर्वेक्षणले पनि एउटा मात्रै खोप लगाउनेमा ८० प्रतिशत दुवै लगाउनेमा ९० प्रतिशत र समग्रमा ६८ प्रतिशत मानिसहरूमा एन्टिबडी रहेको देखाएको छ,” कोभिड सङ्क्रमण कम हुनुको कारणबारे अधिकारीले भने।
विज्ञहरूका अनुसार कोभिड-१९ विरुद्ध लड्ने क्षमता विकास गर्ने खोपबाहेक कोभिड सङ्क्रमणबाट निको भएका मानिसहरूमा पनि एन्टिबडी भनिने प्रतिरोध गर्ने तत्त्व रहन्छ।
मन्त्रालयका अनुसार हालसम्म एक करोड जनाभन्दा बढीलाई कोभिड खोप लगाइसकिएको छ।
शनिवारसम्म ५१ लाख ६१ हजार जनाजतिले पूर्ण मात्रामा कोभिड खोप लगाइसकेका छन्।
नेपालमा पीसीआर र एन्टिजन विधिबाट गरिएको परीक्षणमा हालसम्म ८६ हजार कोभिड सङ्क्रमण पुष्टि भएको भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा समेत पछिल्लो समय बिरामीहरूको चाप घट्दै गएको जानकारी दिए।
डा. बाँस्तोला आगामी असोज दोस्रो र तेस्रो हप्ता सङ्क्रमण थप कम भएर जाने बताउँछन्।
“एउटा नेपालमा खोपको पहुँच धेरै विस्तार भइसकेको छ भने अर्को जो सङ्क्रमणको जोखिममा थिए उनीहरू सङ्क्रमित भइसकेको देखिन्छ,” बाँस्तोलाले भने।
“अब नयाँ भेरिअन्ट आयो भने भन्न सकिन्न, तर अहिलेकै भेरिअन्टहरूले सङ्क्रमण पुन: बढाउने सम्भावना ज्यादै न्यून छ।”
स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम बढ्न सक्ने बताएको छ।










