बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले सन् २०११ मा नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटमा पूर्वी टिमोरको सामना गर्दा २३ सदस्यीय अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गरे । अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गर्नु निकै दुर्लभ अवसर थियो । प्रशिक्षक रोबर्ट्सलाई यो निर्णय लिन बाध्य बनाएका थिए युवा गोलरक्षक विशाल श्रेष्ठले । घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी र क्याम्पमा पनि प्रभावशाली प्रदर्शन गरेपछि उनी टोलीमा परेका थिए ।
त्यसबेला टोलीमा किरण चेम्जोङ पहिलो रोजाइका गोलरक्षक थिए भने विकास मल्ल र रितेश थापा किरणलाई चुनौती दिइरहेका थिए । विशालको प्रदर्शनले रोबर्ट्सलाई छनोट गर्न निकै कठिन भएपछि चारै खेलाडी समेटेका थिए । त्यसबेला १८ वर्ष पुगेका विशालले राष्ट्रिय टोलीमा परेको लयलाई क्लब स्तरमा थप बढावा दिए । मोफसलका प्रतियोगितासँगै मनाङबाट लिग उपाधि जित्दा उनी उत्कृष्ट पनि घोषित भए ।

राष्ट्रिय टोलीमा स्थान बनाएको एक दशक बितिसक्दा पनि उनले डेब्यु गर्न भने पाएनन् । चोटका कारण बिचमा एकाध प्रतियोगिता गुमाउनुभन्दा बाहेक उनी टोलीमा नै रहँदै आए । विशालले पछिल्लो दशकमा साफ च्याम्पियनसिप, विश्वकप छनोट, एसियन कप छनोट लगायत थुप्रै मैत्रीपूर्ण खेलका टोलीमा रहेपनि डेब्यु पाएका थिएनन् । सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जित्दा पनि उनी टोलीमा थिए । तर त्यसबेला खेल्न भने पाएनन् । अन्तिम टोलीमा परेपनि मैदानमा छिर्न भने नपाएका विशाल अझैपनि अवसरको प्रतिक्षामा निरन्तर मिहिनेत गरिरहेका थिए ।
डेब्यु गर्ने अवसरमा नजिक आएर पनि विशाल पटक पटक त्यसबाट बन्चित भए । दुई पटक त उनलाई डेब्यु गर्ने तयारी गरिएका मैत्रीपूर्ण खेल नै रद्द समेत भए । पछिल्लो पटक कोरोना संक्रमणको प्रभाव केहि कम भएपछि बंगलादेशविरुद्ध ढाकामा भएको मैत्रीपूर्ण खेलमा विशाल डेब्यु गर्ने संघारमा थिए । तर त्यहाँ वार्मअप गरेर पनि उनी मैदान पस्न पाएनन् ।
त्यसो त भारतविरुद्ध पहिलो खेलमा पनि विशालले वार्मअपमा झन्डै आधा घण्टा बिताए । कप्तान तथा गोलरक्षक किरणले पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल रोकेपछि प्रशिक्षक अलमुताइरीले विशाललाई वार्मअप गर्न पठाएका थिए । तर दोस्रो हाफको खेलमा भारतले पकड जमाउँदै लगेपछि प्रशिक्षक अलमुताइरीले गोलरक्षक परिवर्तन गर्ने जोखिम उठाएनन् । उनी आफैंले पोस्ट म्याच कन्फरेन्समा गोलरक्षक परिवर्तन गर्ने जोखिम उठाउन नचाहेको बताए ।
भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार भने विशालले अन्तत: डेब्यु गरे । विशालले डेब्यु गर्दा टोलीको गोलरक्षक प्रशिक्षकमा विकास मल्ल थिए । उनै विकास, जो विशाल पहिलो पटक टोलीमा पर्दा पहिलो रोजाइको स्थानका लागि किरणसँग प्रतिस्पर्धामा थिए । र विशालले ८६ औं मिनेटमा मैदान प्रवेश गर्दा स्थान पनि किरणकै लिए, जसले २०११ देखि फर्केर हेर्नुपरेको छैन ।
घरेलु फुटबलमा झन्डै डेढ दशक खेलेका विशालका लागि यो कति महत्त्व राख्छ उनको नजिक रहेर खेल्ने सबैले बुझेका छन् । भारतले जित हासिल गरेपनि खेल सकिएलगत्तै प्रशिक्षक अलमुताइरी, गोलरक्षक किरण, विकेश कुथु लगायत सबै खेलाडीले उनीसँग अंकमाल गरेका थिए । उनी आफैं पनि निकै भावुक देखिए ।










