बाँकेको कोहलपुर–११ कालिकानगरकी देउसरा कामी घटना विवरणको मिसिल बोकेर आइतबार जिल्ला प्रहरी कार्यालय पुगिन् । तर, प्रहरीले मुद्दा दर्ता गर्न मानेन । उनी यसरी न्यायका लागि धाउन थालेको ३ दशक बितिसक्यो, सधैंझैं यसपालि पनि उनी आश्वासन लिएर फर्किइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा बेपत्ता पारिएका श्रीमानको जोहरी दिन गएका चन्द्रकला उप्रेती र देउसरी कामी । तस्बिर : मधु शाही/कान्तिपुर
एसपी श्यामकृष्ण अधिकारीलाई ‘मुद्दा दर्ता गरिदिनूस् हजुर’ भनेर पटकपटक आग्रह गरिरहिन् । उनले ध्यान दिएर मिसिल पढे तर पनि मुद्दा दर्ता गर्न चाहेनन् । ‘मुलुकभरको समस्या भएकाले बुझेर दर्ता गरुँला’ भन्दै देउसरालाई निराश बनाए । ‘आयोगले काम गरेन, प्रहरीले मुद्दा हेरिदिन्छ कि भन्ने आसले आयौं,’ उनले भनिन्, ‘फेरि उस्तै ।’ देउसराका श्रीमान् धनसिंहलाई २०५९ वैशाख १३ गते राति सुरक्षाकर्मीले बेपत्ता बनाएका थिए । धनसिंहसँगै कोहलपुरका अन्य ५ जना अझै भेटिएका छैनन् । १९ वर्षअघिदेखि बेपत्ता श्रीमान्को केही पत्तो छैन । तर, देउसराले आस नै भने मारिसकेकी छैनन् । उनको निधारमा रातो टीका छ । ‘अन्तरमनमा एक दिन श्रीमान् फर्केर आउलान् भन्ने विश्वास त छ तर कसले ल्याइदिने ?’ करिब २ दशकदेखि राज्यसमक्ष उनी यही प्रश्न गर्दै आएकी छन् । मानव अधिकारवादी संघसंस्थामा सक्रिय भएर खोजीका लागि अपिल गरे पनि अहिलेसम्म श्रीमान्को कुनै खुटखबर छैन । ‘राज्यले न एकल बनायो न दुकल,’ उमेरले ६ दशक पार गरेकी उनले भनिन्, ‘न्याय नपाउँदासम्म लडिरहन्छु ।’

न्यायको आशा बोकेर बेपत्ता पारिएका श्रीमान्को खोजीमा मुद्दा दायर गर्न चन्द्रकला उप्रेती पनि उनीसँगै आएकी थिइन् । नेपालगन्ज धम्बोझी–१ की उनका श्रीमान् भूपेन्द्रराज उप्रेतीलाई सेनाले २०६० मंसिर २३ गते बिहान बेपत्ता बनाएको थियो । श्रीमान् राज्यले गायब पारेकाले राज्यले नै फिर्ता गराउनुपर्ने उनको अडान छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष रहेकी उनी न्यायका लागि निरन्तर संघर्षरत छन् । तर, बेपत्ताको अवस्थाबारे खोजी गर्न गठित सत्य निरूपण तथा बेपत्ता पारिएकाको छानबिन आयोगले अहिलेसम्म न्याय दिन नसक्दा उनीजस्ता थुप्रै द्वन्द्वपीडित राज्यप्रति रुष्ट छन् । ‘दुई वर्षका लागि खोलिएको आयोगले अहिलेसम्म पीडितलाई न्याय दिन सकेन,’ उनले भनिन्, ‘त्यसैले हामी आफैं प्रहरी कार्यालयमा मुद्दा जाहेरी दिन आएका हौं ।’
सरकारले द्वन्द्वपीडितका एउटै पनि घटनाको स्थिति पत्ता लगाउन सकेको छैन । यो फौजदारी मुद्दा हो भन्दै पीडित न्यायका लागि प्रहरीसमक्ष पुग्न थालेका छन् । प्रहरीले त्यसको अनुसन्धान गरेर पीडितलाई न्याय दिन जरुरी रहेको अधिवक्ता वसन्त गौतमले बताए । उनका अनुसार बाँकेमा ६५ जना बेपत्ता पारिएका परिवार छन् । त्यससँगै विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आएका परिवार पनि यहाँ छन् । मध्यपश्चिम क्षेत्र सबैभन्दा बढी बेपत्ता भएको क्षेत्रमा पर्छ । बर्दियामा २ सयभन्दा बढी परिवार बेपत्ता पारिएका छन् । ‘द्वन्द्वको घाउ सुकिसक्यो तर बेपत्ता पारिएका परिवारको आँसु सुकेको छैन,’ अधिवक्ता गौतमले भने, ‘राज्यले न्याय नदिई सुखै छैन । विद्रोही र राज्य दुवैतर्फबाट भएको अपराधलाई राजनीतीकरण गर्दा पीडितले न्याय पाउन सकेनन् ।’
सशस्त्र द्वन्द्वमा बेपत्ता भएका आफन्तको स्थितिबारे तिनका परिवार तड्पिइरहेका छन् । १६ वर्षअघि श्रीमान् कमलप्रसाद बेपत्ता भएपछि विक्षिप्त बनेकी रूपन्देहीको गजेडीकी धनकुमारी थारूको अवस्था अझै सामान्य भएको छैन । उनी कमै मानिससँग मात्र बोल्छिन, त्यो पनि बोल्न सुरु गर्यो कि रुन थाल्छिन् । बेलाबेलामा झस्केर बेहोस पनि हुने गर्छिन् । भारतबाट रोजगारी गरी फर्केको ३ दिनपछि कमलप्रसाद २०६२ भदौ ११ गते पर्रोहाबाट सेनाको कब्जामा परेका थिए । त्यसबेला धनकुमारी २२ वर्षकी थिइन् । उनका साथमा दुईमहिने छोरी र ६ वर्षे छोरा थिए । नाबालकसहित माइतीघर बसेकी धनकुमारी अझै घरमा स्थापित हुन सकेकी छैनन् ।
‘श्रीमान्को सास कि लास’ माग गर्दै तीन तहकै सरकार र संघसंस्था धाउँदा उनी थाकिसकिन् । ‘हावाले ढोका ठेल्दा पनि उहाँ आएको झल्कोले सताउँछ,’ उनले भनिन् । कानुनले १२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृतकसरह मानेर हकवालालाई सम्पत्तिको अधिकार दिन्छ । धनकुमारी यसबाट वञ्चित छन् । ‘उहाँ नभेटिएपछि कुसको प्रतिमा बनाएर काजकिरिया गरौं, मृत्यु दर्ता गराऔं भन्दा सासूससुराले मान्नुभएन,’ उनले भनिन्, ‘अहिले वडा कार्यालयले मिल्दैन भनेर फर्काउँछ ।’ मृत्यु दर्ता नहुँदा उनले घरपरिवारको सम्पत्तिमा हकदाबी गर्न पाएकी छैनन् । अन्य महिलासरह एकल महिलाको सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएकी छन् ।
१८ वर्षअघि श्रीमान् गोपाल रिजाल बेपत्ता भएपछि विक्षिप्त बनेकी सैनामैनाकी कमलाको अवस्थामा पनि अझै सुधार आएको छैन । संगीसाथी देख्दा भक्कानिन्छिन् । २०६० मंसिर २८ गते माओवादी आशंकामा राज्य पक्षले गोपाललाई बेपत्ता बनाएको उनको भनाइ छ । परिवार र समाजले अन्तिम संस्कार नगरे पानी नचलाउने भनेपछि बाध्य भएर गरेको उनले बताइन् । ‘साँझमा कालो छाया देख्दा पनि उहाँ उभिएजस्तै लाग्छ,’ कमलाले भनिन्, ‘सपनामा पनि झस्कन छोडेकी छैन ।’ श्रीमान् बेपत्ता हुँदा कमला २५ वर्षकी थिइन् ।










