अर्चना पन्थी पाँच वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। सन् २०१६ मा पहिलोपटक नाटकमा अभिनय गरेपछि रङ्गमञ्चप्रति उनको मोह बढ्यो। नियमित हुने नाटक र अभिनयसम्बन्धी कामहरूबाट व्यक्तिगत खर्च धान्न पुग्दो पैसा कमाइ रहेकी थिइन्।
तर एकाएक कोरोनाभाइरसको महामारी फैलियो। रङ्गमञ्च बन्द भए। नियमित नाटक मञ्चन, कार्यशाला र कार्यक्रमहरू हुन छाडे। कमाइको बाटो ठप्प भयो। कोठा भाडादेखि नियमित खर्च पुर्याउनै मुस्किल भयो।

“दुई वर्ष त पर्खिएँ। अझै कति पर्खनु पर्ने हो टुङ्गो लागेन। त्यसैले कला र अभिनयभन्दा फरक काम गर्न थालेँ,” पन्थीले भनिन्।
अहिले उनी एक कर्पोरेट कम्पनीमा सञ्चार अधिकृतको रूपमा काम गर्छिन्।
“रङ्गमञ्चको काम नहुँदा दोबाटोमा उभिएकोजस्तै हुन थाल्यो। हरेक दिन आफैसँग प्रश्न गरेँ, अब के?,” आफ्नो मानसिक स्थितिबारे पन्थी भन्छिन्।
ग्र्यामी अवार्डको मनोनयनमा परेका नेपाली कलाकारको रोमाञ्चक जीवनयात्रा
कान सुन्न नसक्ने बने पनि बेथोभनले अहिलेसम्मकै प्रख्यात सङ्गीत कसरी रचे
“रहर बाहेकको काम गर्ने निर्णयमा पुग्न गाह्रो हुँदो रहेछ।”
रङ्गमञ्च सञ्चालन नहुँदा आर्थिक रूपमा मात्र नभई मानसिक रूपमा पनि विचलित भएको उनी बताउँछिन्।
पन्थीले भोगेको अवस्था उनको मात्रै होइन, लगभग सबै रङ्गमञ्चकर्मीको हो। महामारीका कारण विगत दुई वर्ष रङ्गमञ्च क्षेत्र नराम्ररी प्रभावित बनेको छ।
नाटकघर निर्माण योजना अलपत्र
विसं २०७६ फागुन २८ गतेका लागि तय भएको थियो नाटक ‘बाछिटा’को पहिलो मञ्चन। मञ्चदेखि कलाकार र उनीहरूको वेशभूषा तयार थियो।
दमक सामुदायिक हलमा देखाउन लागिएको नाटकको अग्रिम भुक्तानीसमेत गरियो। भाडामा ल्याइएका बत्तीहरू जडान गरियो र टिकट छपाइयो।
मञ्चन सुरु हुनुभन्दा ठिक दुई दिनअगाडि सरकारले सूचना जारी गर्यो – भिडभाड हुने कार्यक्रम र सभा सम्मेलन नगर्नु।
“त्यति बेला कोरोनाभाइरसबारे धेरै थाहा थिएन। लकडाउन हप्ता-दश दिन होला त्यसपछि त खुलिहाल्छ नि भनेर बस्यौँ,” नाट्यकर्मी सिजन दाहालले सुनाए।










