टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ ।
महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब दिउँसो २:१५ बजे रेपेचेजतर्फ पलेशाले क्वाटरफाइनलमा खेल्नेछिन् । रेपेचेजबाट दुई खेलाडीले कास्य पदक प्राप्त गर्नेछन् ।

११ खेलाडीले प्रतिस्पर्धा गरिरहेको तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका थिए ।
पलेशा प्रशिक्षक कविराज लामासहित ६ सदस्यीय टोली भदौ ४ गते जापान पुगेको पुगिेको थियो ।
पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य र विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् । उनले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पारालिम्पिक छनोट खेल्न पाएकी थिइनन् । तर पछि वाइल्डकार्डमा नाम परेपछि उनको यात्रा तय भएको थियो ।










