कोभिड महामारीका कारण विगत डेढ वर्षमा २३ पत्रकारको ज्यान गएको, एक हजारभन्दा बढीले आफन्त गुमाएको र अन्य थुप्रै व्यावसायिक रूपमै प्रभावित हुनुपरेको गम्भीर अवस्था छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखेरेलले मंगलबार नेपाल प्रेस इन्स्टिच्युटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा सम्बोधन गर्दै सो जानकारी दिनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालामा अध्यक्ष पोखरेलले भन्नुभयो, ‘कोभिडका कारण कति उद्योग तथा व्यवसाय बन्द भए तापनि मिडिया क्षेत्र जसरी होस् चलिरहेकै छ, दुःख सहेर यस क्षेत्रलाई जीवित नराखेको भए महामारीले कति भयावहस्वरूप देखाउँथ्यो, सबैले पत्रकार तथा सञ्चार क्षेत्रको गुन मान्नु आवश्यक छ ।’
कार्यक्रमका मुख्य अतिथि पोखरेलले, मुलुकका लागि यत्रो भूमिका खेल्ने मिडिया क्षेत्रप्रति राज्य संकीर्ण र अनुदार हुनु दुर्भाग्यपूर्ण हो भन्नुभयो ।
अध्यक्ष पोखरेलको जवाफमा सोही कार्यक्रमका प्रमुख अतिथि तथा सचिव अर्यालले प्रदेश तथा स्थानीय सरकारले मिडिया तथा सञ्चार क्षेत्रका लागि सघाउने काम गरिरहेको छ, त्यो सहयोग पनि राज्यले नै गरेको हो, संघीय सरकारबाट सहयोग प्राप्त भएन भनेर राज्यले नै सहयोग नगरेको भन्न मिल्दैन भन्नुभयो ।
‘सरकारले मिडिया तथा सञ्चार उद्योगका विभिन्न क्षेत्रमा कर छुटको सोच बनाएको छ, महासंघ तथा नेपाल प्रेस इन्स्टिच्युटका अनुभवी सञ्चार विज्ञसँग बसेर छलफल गर्न हामी तयार छौं, तपाईंहरूको सुझावअनुसार हामी अघि बढ्छौं,’ सचिव अर्यालले भन्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनुदान सहयोगमा नेपाल प्रेस इन्स्टिच्युटले ‘नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिड–१९ ले पारेको असर’ विषयमा आयोजित सो कार्यक्रममा सातै प्रदेशका नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्षकले तयार पारेको अनुसन्धानमूलक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।










