लामो समयपछि बिस्तारै विद्यालयहरूले भौतिक रुपमा पठनपाठन सुरु गर्न थालेका बेला विज्ञहरूले स्वास्थ्यका मापदण्ड पालना भए नभएको अनुगमनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
अनलाइन तथा अन्य वैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन भएपनि बिस्तारै राजधानीमै विद्यालयहरू भौतिक रुपमा खुल्न थालेका छन्।

सोमवार काठमाण्डूको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले मंगलवारदेखि सरकारी तथा सामुदायिक विद्यालय खोल्नसक्ने भनेर निर्णय गर्यो।
स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्था गरेर विद्यालय भौतिकरुपमा सञ्चालन गर्न नगरपालिकाले अनुमति दिएको हो।
तर त्यसरी विद्यालय सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पालना भए नभएको नगरपालिकाको शिक्षा शाखाले अनुगमन गर्ने उल्लेख छ।
वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने विधिले धेरै विद्यार्थीलाई समेट्न नसकेको भन्ने गुनासो चर्केको बेला भौतिक रुपमा विद्यालय खोल्न थाल्नुपर्ने आवश्यकताका माझ विज्ञहरूले सावधानीका उपायमा जोड दिएका हुन्।










