ऋषितर्पणीका रूपमा पनि चिनिने यस पर्वलाई धुमधामसाथ मनाउने चलन छ । समुदाय अनुसार यस पर्वलाई आआफ्नै तरिकाले मनाउने गरिन्छ । आजका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने चलन छ ।
यसदिन बिहानै नुहाएर जौ, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।

आत्माशुद्धी र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको सांस्कृतिविद्को भनाइ छ । मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णीमालाई जनैपूर्णीमा पनि भन्ने गरिएको हो । आजका दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ।
वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ। जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ।
जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ। यसदिन विभिन्न धार्मिक तीर्थस्थलहरुमा मेला पनि लाग्ने गरेको थियो । तर यस वर्ष कोरोनाका महामारीका कारण भिडभाडयुक्त मेला सम्भव नहुने भएको छ । यसदिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ।
तराईमा दिदी बहिनीले आज नै आफ्ना दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै नाडीमा राखी बाँध्ने गर्छन् । दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्ने गरिन्छ । पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ।
नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णीमालाई गुँपुन्ही भनी मनाउने गर्दछन्। यस समुदायमा नौवटा गेडागुडी मिश्रण गरिएको क्वाँटी खाने प्रचलन छ। पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगिसकेको छ । अन्य समुदायका मानिसले जनै फेरेर क्वाँटी खाने गर्छन्। टुसा पलाएको पौष्टिक तत्वयुक्त क्वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन्।
यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन्।भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न विशेष पूजा गरिँदै आएको हो। ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्वाँटी दिएर पूजा गरिन्छ ।
क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ। यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्न शरीरलाई शक्ति दिने भएकाले यस दिन क्वाँटी खाने चलन रहेको सांस्कृतिविद्को भनाइ छ ।










