वैशाख १७ बनेपा ।
उमेरले ७२ पुगिसके । अनुहार चाउरी परिसक्यो । ढाका टोपी र कोट लगाएका उनी कुप्रो पर्दै सकसका साथ हिँडिरहेका छन् । देब्रे खुट्टा खोच्याउँदै अघि बढ्छन्, छिनछिनमा सुस्केरा हाल्दै रोकिइरहन्छन् । गाह्रो भएपछि सडक किनारमै थचक्क बस्छन् र फेरि गन्तव्यतिर अघि बढ्छन् ।

उनी अर्थात् रामेछाप, प्रितीका शेरबहादुर बस्नेत । कोभिड–१९ को महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लगाइएको उनलाई थाहा थियो । निषेधाज्ञा लागू हुनुअघि घर जान दुईदिन समय दिइएको बारे पनि उनी जानकार छन् । तर भन्छन्, ‘टिकटको जोरजामै गर्नै सकिएन ।’
सुरुमा त उनलाई घर जान्नँ भन्न लागेको थियो । तर प्रशासनले एकसाता भनेको निषेधाज्ञा मन्त्रिपरिषद्ले थप सात दिन लम्ब्याएको थाहा पाएपछि गौशालास्थित भदैको घरमा लामो समय बसिरहन उनको मनले मानेन । ‘आफन्त कहाँ सधैँ बसेर हुन्छ र ?’ प्रश्न मिश्रित भावमा उनी भन्छन् ।
त्यही कारण उपचार गर्न र मन्दिर दर्शन गर्न भन्दै काठमाडौं आएका उनले निषेधाज्ञाका बीच हिँडेरै रामेछाप पुग्ने अठोट लिए । र, कालो झोला भिरेर उनी शुक्रबार जोशका साथ पैदल यात्रामा निस्किए ।
पहिले पनि हिँडेकै बाटो भन्दै गौशालाबाट निस्किएका उनी बनेपा पुग्दा चाहिँ निकै थकित देखिन्थे । ‘काभ्रेसम्म पुगेपछि बसपार्कमा गाडी पाइन्छ कि भन्ने आश थियो’ हिँड्दै कुरा गरेका उनले भने, ‘हेरौं के हुन्छ !’
गौशालास्थित कोठामा खाना खाएर विहान ८ बजे निस्किएको उनलाई बनेपा पुग्न उनलाई साढे ५ घन्टा लाग्यो । ‘पोहोर प्रितीमै मोटरसाइकलले ठक्कर दिँदा खुट्टा गइहाल्यो’ उनले सुनाए, ‘त्यसपछि राम्रोसँग हिँड्नै सक्दिन ।’
आराम गर्दैगर्दै आउँदा साढे २ बजे मात्रै बनेपा पुगेको उनले बताए । ‘यहाँबाट त बस पाइन्छ कि’ उनी सोध्दै थिए । उनीसँगै हामी पनि बसपार्कतिर लाग्यौं । काभ्रेमा निषेधाज्ञा थिएन । सडकमा सवारीसाधनहरु चलिरहेको देखिन्थे । यद्यपि बसपार्कमा पनि लामो दूरिका सवारीसाधन खासै देखिएनन् ।
खुर्कोटसम्म जाने एउटा टाटा सुमो चाहिँ भेटियो । ‘बा.. यसमै जानुस्, त्यहाँबाट केही पाइएला नि’ पूरै भनिनसक्दै सानो स्वरमा उनी सुनिए, ‘रामेछापै हिँडेर जान्छु भनेर आएको हुँ, जहाँसम्मको भेटिए पनि गइहाल्छु ।’










