नेपालमा थप २,२३९ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।
पछिल्लो २४ घण्टामा ११,३१३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,६५६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको १९.७९ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।
सो अवधिमा १,३१६ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९५ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,३४० पुगेको छ।
अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ४९९५ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्।
अहिले कुल २६,५९० जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,६७० जना संस्थागत आइसोलेशनमा रहेका छन्।
शुक्रवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३८० जना काठमाण्डू उपत्यकामा रहेका छन्।
अहिले देशभरिका ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५३९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन्।










