कृष्ण कुँवर (कर्नेलियस) पर्बत — फलेवास नगरपालिका–२, थापाठानामा सामाजिक सेवाको उद्देश्यसहित स्थापना गरिएको “असल छिमेकी केन्द्र” जिल्ला प्रशासन कार्यालय पर्वतमा विधिवत् दर्ता भएको छ। संस्थाले स्थायी लेखा नम्बर (PAN) समेत प्राप्त गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले २०८३ साल कात्तिक १७ गते संस्था दर्ता ऐन, २०३४ को दफा ४ बमोजिम संस्था दर्ता गरी प्रमाणपत्र प्रदान गरेको हो। त्यसको दुई दिनपछि अर्थात् कात्तिक १९ गते आन्तरिक राजस्व कार्यालय बागलुङअन्तर्गत संस्थाको नाममा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र जारी भएको हो।
संस्था दर्ता र स्थायी लेखा नम्बर प्राप्त भएसँगै केन्द्रले संस्थागत रूपमा आर्थिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्ने कानुनी आधार प्राप्त गरेको छ।
पदाधिकारी तथा सदस्यहरू
असल छिमेकी केन्द्रको अध्यक्षमा कृष्ण बहादुर कुँवर, उपाध्यक्षमा दुर्गा बानियाँ, सचिवमा गणेश शर्मा, कोषाध्यक्षमा लक्ष्मी तिवारी सापकोटा र सहसचिवमा अन्जान बहादुर थापा मगर रहेका छन्।
त्यसैगरी सदस्यहरूमा सबिता कुँवर, मदन कुँवर, तिल कुमारी सापकोटा कुँवर, धिरेन्द्र के.सी., दीपक प्रसाद सुवेदी, सुरेश श्रेष्ठ, विष्णु बहादुर थापा मगर, मेलिना थापा कुँवर, टेक बहादुर कुँवर, सुवास भण्डारी, सरस्वती भुसाल कुँवर, संजिता कुँवर र विपना महर्जन कुँवर रहेका छन्।
कानुनी तथा अन्य सल्लाहकार
संस्थाको कानुनी सल्लाहकारमा पीएचडी शोधार्थी तथा अधिवक्ता किशोर कुँवर रहेका छन्।
त्यसैगरी सल्लाहकारहरूमा थापाठाना माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्मा, समाजसेवी तिलक सापकोटा (हाल युएई) र समाजसेवी आस्था कार्की (हाल पोर्चुगल) रहेका छन्।
संस्थालाई कानुनी रूपमा दर्ता गर्ने प्रक्रियामा सचिव तथा थापाठाना माध्यमिक विद्यालयका शिक्षक गणेश शर्मा, कोषाध्यक्ष तथा शिक्षिका लक्ष्मी तिवारी र प्रशासनमा दर्ता अधिकारी भरत सापकोटाले महत्त्वपूर्ण सहयोग गरेका थिए।
त्यसैगरी संस्थाको स्थापना, उद्देश्य तथा व्यवस्थापनका विषयमा सल्लाह र सुझाव प्रदान गर्नेहरूमा रुजित बिन्दु श्रेष्ठ, रमेश भण्डारी, देवबहादुर कुँवर, ज्ञानबहादुर कुँवर, महलाल कुँवर, मिलन खत्री, निर्मल कुँवर, एक्जङ्ग कुँवरलगायत रहेका छन्। धेरैजनाको सल्लाह र सहयोगमा दर्ता प्रक्रिया सम्पन्न भएको थियो।
संस्थाको दर्ता तथा व्यवस्थापन प्रक्रियामा जिल्ला प्रशासन कार्यालय पर्वत, फलेवास नगरपालिका, वडा नं. २ का वडाध्यक्ष गंगानारायण श्रेष्ठ तथा वडा कार्यालयका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीबाट प्राप्त सहयोग, समन्वय र सद्भावप्रति केन्द्र आभार व्यक्त गर्दछ।
फेसबुक अभियानबाट संस्थागत सामाजिक सेवासम्म
‘कष्ट र विपत्तिमा परेकाहरूलाई सहयोग गरौँ, असल छिमेकी बनौँ’ भन्ने मूल भावनासहित स्थापना गरिएको असल छिमेकी केन्द्रको सामाजिक सेवाको यात्रा संस्था दर्तासँगै सुरु भएको भने होइन। लामो समयदेखि ‘थापाठानाका युवाहरू’ नामक फेसबुक समूह तथा सामाजिक सञ्जालमार्फत व्यक्तिगत र सामूहिक प्रयासमा विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन हुँदै आएका छन्।
यस अभियानमार्फत विगतदेखि नै विपद्, दुर्घटना, क्यान्सर तथा अन्य रोगबाट प्रभावित व्यक्ति र आर्थिक रूपमा समस्यामा परेका परिवारलाई सहयोग गर्दै आइएको छ। साथै शिक्षा, स्वास्थ्य तथा सामुदायिक हितका विभिन्न क्षेत्रमा समेत सहयोगका गतिविधि सञ्चालन हुँदै आएका छन्।
वर्षौंदेखि व्यक्तिगत तथा सामूहिक प्रयासबाट निरन्तर अघि बढाइएको सामाजिक सेवाको यही अभियानलाई थप व्यवस्थित, पारदर्शी र दीर्घकालीन बनाउने उद्देश्यले असल छिमेकी केन्द्रलाई संस्थागत स्वरूप प्रदान गरिएको हो।
केन्द्रले जात, धर्म, राजनीति तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आवश्यकतामा परेका जोकोहीलाई मानवीय भावनाका साथ सहयोग गर्ने लक्ष्य लिएको छ। विपद् व्यवस्थापन, असहाय तथा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग, सामाजिक उत्तरदायित्व र सामुदायिक एकता अभिवृद्धिलाई संस्थाले प्राथमिकतामा राखेको छ।
संस्था दर्ता र स्थायी लेखा नम्बर प्राप्तिसँगै असल छिमेकी केन्द्रले आगामी दिनमा सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।






