✍️ दिपेश श्रेष्ठ, नेपालको लोकतान्त्रिक आन्दोलन, समावेशी प्रतिनिधित्व र दिगो विकासको एजेन्डासँग नजिकबाट जोडिएको नाम हो डा. गंगालक्ष्मी अवाल। २०८२ फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस का तर्फबाट समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत डा. अवाल शिक्षा, समाजसेवा, महिला नेतृत्व विकास तथा दिगो ऊर्जा व्यवस्थापन क्षेत्रमा सक्रिय रहँदै राष्ट्रिय राजनीतिमा स्थापित हुँदै गरेकी नेतृ हुन्।
पिता विष्णुभक्त अवाल र माता शोभालक्ष्मी अवालबाट वि.सं. २०३० साल असार ६ गते भक्तपुर नगरपालिका–बेखालमा जन्मनुभएकी डा. अवाल शिक्षित र सामाजिक चेतनायुक्त परिवारमा हुर्किनुभयो। परिवारबाट प्राप्त अनुशासन, श्रमको सम्मान र सामाजिक उत्तरदायित्वको संस्कारले उनको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। भक्तपुरको सांस्कृतिक वातावरणले उनलाई समाज र समुदायसँग नजिक रहन प्रेरित गर्यो।

उहाँले वि.सं. २०४६ सालमा भक्तपुरस्थित सारदा माध्यमिक विद्यालय बाट एसएलसी उत्तीर्ण गर्नुभयो। त्यसपछि समाजशास्त्र/मानवशास्त्र विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो। उच्च अध्ययनका क्रममा थाइल्याण्ड पुगेर दिगो ऊर्जा व्यवस्थापन (Sustainable Energy Management) विषयमा विद्यावारिधि (PhD) उपाधि हासिल गर्नुभएको छ।
वातावरणीय सन्तुलन, कृषि र ग्रामीण अर्थतन्त्रमा नवीकरणीय ऊर्जाको भूमिका तथा दिगो विकासका संरचनात्मक आयामहरूबारे उहाँले गहिरो अध्ययन र अनुसन्धान गर्नुभएको छ। करिब दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक, सामाजिक तथा नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै कृषि, पर्यटन उद्योग/व्यवसाय तथा महिला सीप विकासका क्षेत्रमा काम गर्नुभएको छ।
महिला सशक्तिकरण, क्षमता अभिवृद्धि र नेतृत्व विकास कार्यक्रम सञ्चालन, किसान अधिकार र मल कारखाना स्थापना जस्ता मुद्दामा पैरवी, तथा सामाजिक न्याय, समानता र समावेशिताका सवालमा उहाँ निरन्तर सक्रिय रहनुभएको छ। २०७२ सालको भूकम्पपछि भक्तपुर जिल्लामा स्वास्थ्य, सरसफाइ, पोषण तथा राहत वितरणमा उहाँले सक्रिय समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।
राजनीतिक जीवनमा पनि उहाँ लामो समयदेखि नेपाली कांग्रेस मा आबद्ध रहँदै आउनुभएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यका रूपमा कार्यरत उहाँ केन्द्रीय व्यवसायिक तथा सीप विकास विभागमा जिम्मेवारी सम्हालिरहनुभएको छ। साथै जिल्ला र नगर तहमा संगठनात्मक भूमिका, महासमिति सदस्य तथा विभिन्न अधिवेशनमा प्रतिनिधित्व गर्दै आउनुभएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाको उप–प्रमुख पदका लागि उम्मेदवार बन्नुभएको थियो। त्यसैगरी नेपाल महिला संघ भक्तपुर जिल्ला कार्यसमिति उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि र अन्तरपार्टी महिला सञ्जाल, भक्तपुर जिल्ला सचिवको भूमिकामा समेत सक्रिय रहनुभएको छ। विद्यार्थी संगठनदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म उहाँको राजनीतिक यात्रा क्रमिक रूपमा विस्तार भएको देखिन्छ।
डा. अवालले कृषि, शिक्षा, स्वास्थ्य, सरसफाइ, पोषण तथा सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ। राष्ट्रिय महिला किसान महासंघ (पूर्व अध्यक्ष) मार्फत किसान अधिकारका लागि निरन्तर पैरवी गर्दै आउनुभएको छ। शिक्षा र सामाजिक विकास क्षेत्रमा परामर्शदायी भूमिका निभाउँदै विभिन्न संस्थाहरूमा नीति निर्माण, व्यवस्थापन तथा नेतृत्व अनुभव आर्जन गर्नुभएको छ। अध्यापन र शैक्षिक अनुसन्धानमा संलग्न उहाँको नेतृत्व शैली अध्ययन–आधारित, व्यावहारिक र समन्वयमुखी रहेको सहकर्मीहरू बताउँछन्।
आफ्ना सार्वजनिक प्रतिबद्धतामा उहाँले सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन, किसानको श्रम र अधिकार सुनिश्चित गर्ने नीति, महिलालाई आत्मनिर्भर उद्यमी बनाउने कार्यक्रम, सामाजिक न्याय र समान अवसर, युवालाई “गरिखाने वातावरण” सिर्जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना, तथा पूर्वाधार, पर्यटन र कृषि विकासलाई प्राथमिकता दिने एजेन्डा अघि सार्नुभएको छ।
डा. गंगालक्ष्मी अवालको राजनीतिक दर्शन “राष्ट्रवाद, लोकतन्त्र र समाजवाद” को सन्तुलित मार्गमा आधारित देखिन्छ। पार्टी केन्द्रीय नेतृत्वले प्रतिनिधि सभा निर्वाचनका लागि उहाँलाई समानुपातिक उम्मेदवारमा समावेश गरेको छ। उहाँको शैक्षिक योग्यता, सामाजिक अनुभव र संगठनात्मक सक्रियताले संघीय संसदमा दिगो ऊर्जा नीति, महिला सशक्तिकरण, कृषि आधुनिकीकरण र सामाजिक न्यायका मुद्दामा प्रभावकारी आवाज उठाउने अपेक्षा गरिएको छ।
यसर्थ, डा. गंगालक्ष्मी अवालको जीवन यात्रा केवल राजनीतिक आकांक्षा मात्र नभई शिक्षा, अनुसन्धान, सामाजिक उत्तरदायित्व र लोकतान्त्रिक प्रतिबद्धताको निरन्तर साधना हो। भक्तपुरको बेखालबाट सुरु भएको यात्रा आज राष्ट्रिय राजनीतिमा समावेशी प्रतिनिधित्वको सम्भावनासम्म पुगेको छ। उहाँको व्यक्तित्वमा ज्ञान, अनुभव र संगठनात्मक दृढता एकसाथ देखिन्छ, जसले भविष्यमा नीति निर्माण तहमा सार्थक योगदानको अपेक्षा जन्माएको छ।










