
कृष्ण कुँवर, पर्वत — “भ्रष्टाचार गर्नु अपराध हो, म भ्रष्टाचार गर्दिनँ। राज्यको कुनै पनि स्रोतको दुरूपयोग हुँदैन। निर्वाचनपछि पनि म तपाईँहरुकै घरदैलोमा हुनेछु।”
यी प्रतिबद्धतासहित नेपाल कम्युनिस्ट पार्टीका पर्वत उम्मेदवार मनहरि तिमिल्सिना फागुन २१ को निर्वाचन लक्षित घरदैलो कार्यक्रममा सक्रिय छन्।
मोदी गाउँपालिका–७, राम्जाका तिमिल्सिना नीति, योजना र विकासका सवालमा चिनिने बौद्धिक व्यक्तित्व तिमल्सिना कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य तथा केन्द्रीय स्कुल विभागमा आबद्ध छन्। साथै, नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत दर्शनशास्त्र विभागसँग संलग्न रहँदै मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष र ‘राष्ट्रका लागि युवा अभियान (Youth for Nation)’ का सल्लाहकारका रूपमा काम गरिसकेका छन्।
सञ्चार तथा सूचना प्रविधि, दर्शनशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्रमा अध्ययन–चासो राख्ने तिमिल्सिनाले नीति अनुसन्धान, भाषा–सम्पादन र आमसञ्चार क्षेत्रमा योगदान दिएका छन्।
उनका प्रकाशित कृतिमा जनताको जनवादका आधारहरु (२०७६), कम्युनिस्ट स्कुल (२०७७, २०७८), समाजवादी क्रान्तिको कार्यदिशा (२०७८), समाजवाद: सिद्धान्त र प्रयोग (२०७९) र पार्टी स्कुल (२०८२) उल्लेखनीय छन्। साथै, विभिन्न कृतिमा सम्पादन भूमिका निर्वाह गर्दै सयौँ फुटकर लेखमार्फत सार्वजनिक बहसमा सहभागी हुँदै आएका छन्।
“मेरो लागि कोही आफ्नो–पराइ छैन। प्रतिस्पर्धी दल पनि मेरा अनन्य मित्र हुन्,” उनले भने। उनको जोड सामूहिक सहकार्यमा छ—“म होइन, हामी मिलेर जिल्ला बनाऔँ, देश बनाऔँ।”










