
पाप र कलङ्कको दाग मेटिँदैन यिनीहरूको
असल इतिहास लेखिँदैन यिनीहरूको
अरुलाई मारेर रगत पिउने बानी परेकाहरु
पछुतो, ग्लानी, स्वीकारोक्ति देखिँदैन यिनीहरूको ।
जनता रुँदा रुँदा आफ्नै आँसुले रुझेका छन् ,
तिमी हत्यारा हौ भनेर बुझ्नेले बुझेका छन् ,
तिम्रो निन्दा त जति गरे पनि पुग्दैन के गर्नु ,
मान्नेले तिमीलाई भगवान नै मानेर पुजेका छन् ।
अदालत ढल्यो, दरबार ढल्यो, ढल्नुपर्ने तिमीहरु हौ ,
आगोमा सुन गले जस्तै गोल्नुपर्ने तिमीहरु हौ ,
सानासाना बालबच्चालाई गोली ठोक्ने पापीहरु ,
तिमीहरुका घरजले तर जल्नुपर्ने तिमीहरु हौ ।
जनता भोकै छन् यिनलाई घरभरि सुन चाहिएको छ,
राजनीति गर्नलाई अरुका छोराछोरीको खुन चाहिएको छ,
जसलाई चुसेर, नअघाएर उनैमाथि गोली ठोक्ने दुष्टलाई
हाम्रो माग त, फाँसीमा लड्काउने कानुन चाहिएको छ ।
श्रीराम रानाभाट (युएईबाट)










