काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ मा तीव्र बनेको छ। सो अवसरमा रास्वपाका प्रतिनिधिसभा उम्मेदवार प्रदीप बिष्टलाई महिला सिर्जनाशील संस्था तथा स्थानीय नेता–कार्यकर्ताहरूले बाजागाजा सहित भव्य स्वागत गरेका छन्।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार बिष्टसँग प्रत्यक्ष संवाद गर्दै चुनावपछि पनि जनताको बीचमै रहने प्रतिबद्धता माग गरेका छन्। “अरू नेताजस्तै भोट माग्ने बेला मात्रै आउने होइन, हामीले चाहेको परिवर्तन व्यवहारमै देखिनुपर्छ,” भन्दै जनताले आफूहरूले जिताएर पठाएको प्रतिनिधि सधैं जनताको साथ र सहयोगमा रहनुपर्ने अपेक्षा व्यक्त गरेका थिए।

यस क्रममा वृद्ध आमाबुवा तथा ज्येष्ठ नागरिकहरूले उम्मेदवार बिष्टलाई आशीर्वाद दिँदै उत्साहपूर्वक घन्टी बजाएर अग्रिम शुभकामना दिएका थिए। स्थानीय जनसमर्थनले अभियानलाई थप ऊर्जा प्रदान गरेको देखिएको छ।
उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका सूचना तथा सञ्चार विभागका सदस्य सोम तामाङ र खेलकुद विभागका सदस्य अर्जुन अधिकारी पनि सक्रिय रहेका छन्। विशेषगरी पार्टीको संगठन निर्माण र विस्तारमा सोम तामाङले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राख्दै घरदैलो अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।










