मकवानपुर — मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शिव प्रसाद अधिकारीले विद्यमान दलमुखी राजनीतिमाथि कडा प्रश्न उठाएका छन्। उनका अनुसार युवालाई केवल भोट बैंकका रूपमा प्रयोग गर्ने र नेतृत्व परिवर्तन गर्न नसक्ने प्रवृत्तिले मकवानपुरको विकास अवरुद्ध बनाएको छ।
अधिकारीले भने, “युवा हुँ भनेर भोट माग्ने तर आफ्नै पार्टीभित्र नेतृत्व परिवर्तन गर्ने आँट नराख्नेहरूले विकासको कुरा गर्नु आत्मविरोध हो।” उनका अनुसार पटक–पटक निर्वाचन जितेर पनि परिणाम दिन नसकेका नेताको जितका लागि युवाहरूलाई परिचालन गर्ने परम्परा अब तोडिनु आवश्यक छ।

उनले आफ्नो उम्मेदवारीलाई कुनै दलविरुद्धको व्यक्तिगत प्रतिस्पर्धा नभई राजनीतिक हस्तक्षेपको स्पष्ट घोषणाका रूपमा व्याख्या गरे। “देश बनाउने नीति र नियम बनाउने ठाउँमा अब युवाहरू आफैँ पुग्नुपर्छ भन्ने सन्देश दिन म चुनावमा होमिएको हुँ,” उनले बताए।
अधिकारीले दलका शीर्ष नेताको निर्णयमा मात्र चल्ने प्रतिनिधिबाट स्थानीय विकास सम्भव नहुने दाबी गरे। उनका अनुसार मकवानपुरलाई आवश्यक पर्ने नेतृत्व पार्टीको आदेश होइन, जनताको पक्षमा निर्भीक रूपमा बोल्न सक्ने हुनुपर्छ। “पार्टीका नाममा हनुमानगिरी गर्ने प्रवृत्तिले मकवानपुरले के पायो ?” भन्ने प्रश्न उनले उठाए।
उनका भनाइमा मकवानपुरको समस्या भाषण, नाराबाजी र चुनावी गठबन्धनले होइन, नितिगत निर्णय, इमानदार प्रतिनिधित्व र जवाफदेही नेतृत्वबाट मात्रै समाधान हुन्छ। यही विश्वासका साथ आफू स्वतन्त्र उम्मेदवार बनेको उनले स्पष्ट पारे।
उनको उम्मेदवारी घोषणापछि मकवानपुर–२ मा परम्परागत दलकेन्द्रित राजनीतिप्रति असन्तोष र वैकल्पिक नेतृत्वको बहस तीव्र बनेको छ। अब मतदाताले पुरानै शैली दोहोर्याउने कि नयाँ हस्तक्षेपलाई अवसर दिने भन्ने निर्णय आगामी निर्वाचनले गर्नेछ। अधिकारीले विभिन्न क्षेत्रमा हुने चुनावमा चुनाब प्लानरको रुपमा काम गरिसकेका छन । अब आफ्नै चुनावमा होमिएका उनले केही नयाँ रडनितिमा लागेको देखिन्छ ।










