दिपेश श्रेष्ठ । सन्तबहादुर चेपाङ बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा अल्पसंख्यक चेपाङ समुदायबाट उदाएका एक प्रभावशाली राजनीतिक व्यक्तित्व हुन्। नेपाली राजनीतिमा सिमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर मानिने सन्दर्भमा उनी प्रदेश सरकारसम्म पुग्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई चेपाङ समुदायको दशकौँ लामो सामाजिक–राजनीतिक संघर्षको मूर्त रूप पनि हो।
सन्तबहादुर चेपाङको जन्म वि.सं. २०३२ सालमा तत्कालीन काकडा गाविस–०८, धिराङ (हाल राक्सिराङ गाउँपालिका वडा नम्बर-७), मकवानपुर जिल्ला, बागमती प्रदेशमा भएको हो। उनका बुबा जयबहादुर चेपाङ र आमा सुकमाया चेपाङ परम्परागत कृषि र मजदुरी पेशामा संलग्न सामान्य किसान थिए। चेपाङ समुदाय बहुल दुर्गम भूगोलमा जन्मिएर हुर्किएका उनले बाल्यकालदेखि नै गरिबी, अभाव, भोक, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको अभाव तथा सामाजिक विभेदलाई नजिकबाट अनुभूति गरे। यही पारिवारिक र सामाजिक परिवेशले उनलाई सानै उमेरदेखि सामाजिक न्याय, समानता र अधिकारका विषयमा संवेदनशील बनायो, जसले पछि उनको राजनीतिक चेतनाको आधार तयार गर्यो।

सीमित स्रोतसाधनका बाबजुद सन्तबहादुर चेपाङले स्थानीय विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरे। औपचारिक शिक्षाको अवसर सहज थिएन, तर समुदायको पीडा, राज्यसँगको दूरी र व्यवहारिक जीवनका अनुभवहरूले उनलाई राजनीतिक तथा सामाजिक शिक्षातर्फ उन्मुख गरायो। युवावस्थामै सामाजिक अभियान र चेतनामूलक गतिविधिमा सक्रिय रहँदै उनले नेतृत्व क्षमताको विकास गरे।
सन्तबहादुर चेपाङ वि.सं. २०४९ सालदेखिनै सामाजिक तथा राजनीतिक सेवामा सक्रिय रूपमा संलग्न छन्। लोकतन्त्र, समावेशी शासन र सामाजिक न्याय नेपाली कांग्रेसको मूल मर्म भएकाले उनले नेपाली कांग्रेस पार्टी रोजे र पार्टी राजनीतिमा सक्रिय भए।
उनको राजनीतिक यात्रा सजिलो थिएन। वि.सं. २०५४ सालको निर्वाचनका क्रममा उनले तत्कालीन नेकपा एमालेका कार्यकर्तासँग भौतिक झडप समेत सामना गर्नुपर्यो। त्यसैगरी, वि.सं. २०७४ सालको आम निर्वाचनमा उनले तत्कालीन नेकपा माओवादीको युवा दस्ता वाईसीएल (YCL) का करिब एक दर्जन युवाको समूहबाट सांघातिक आक्रमण समेत व्यहोरे। यस्ता चुनौती, धम्की र हिंसाका घटनाबीच पनि उनले आफ्नो राजनीतिक विश्वास र संघर्षलाई निरन्तरता दिए।
समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत सन्तबहादुर चेपाङ बागमती प्रदेश सभाका सदस्य बने। त्यसपछि उनी बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएर जिम्मेवारी समेत समालिसकेका छन्। उनी चेपाङ समुदायबाट प्रदेश सरकारमा मन्त्री बन्ने पहिलो व्यक्तिका रूपमा इतिहासमा दर्ज भए। यसले प्रदेश सरकारमा सिमान्तकृत समुदायको प्रत्यक्ष र अर्थपूर्ण उपस्थिति सुनिश्चित गर्यो।
प्रदेश सरकारकाे मन्त्री पदमा रहँदा उनले दुर्गम, पिछडिएका र सिमान्तकृत बस्तीलाई विकासको मूलधारमा ल्याउने विषयलाई प्राथमिकतामा राखे। विशेष गरी चेपाङ बहुल क्षेत्रहरूमा ग्रामीण सडक सञ्जाल विस्तार, खानेपानी तथा साना पूर्वाधार योजनामा जोड,स्थानीय तहसँग समन्वय गरी आधारभूत विकास कार्यक्रम सञ्चालन,दुर्गम बस्तीको पहुँच सुधार जस्ता विषयमा उनले सक्रिय पहल गरे।
उनको दृष्टिमा विकास केवल भौतिक संरचना निर्माणमा सीमित नभई सामाजिक पहुँच, अवसर र सम्मानको विस्तार पनि हो। यही मान्यताका आधारमा उनले प्रदेश सभामा अल्पसंख्यक जाति, आदिवासी जनजाति तथा धार्मिक समुदायका हक–अधिकारका विषयमा निरन्तर आवाज उठाए।
हाल सन्तबहादुर चेपाङ नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य,केन्द्रीय सूचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य, नेपाल लोकतन्त्रवादी चेपाङ संघका केन्द्रीय सभापतिका रूपमा सक्रिय छन्। यी भूमिकामार्फत उनले चेपाङ समुदाय मात्र नभई सम्पूर्ण सिमान्तकृत, आदिवासी जनजाति र अल्पसंख्यक धार्मिक समुदायका मुद्दालाई पार्टी, सरकार र राज्यको नीति तहसम्म पुर्याउने प्रयास गरिरहेका छन्।
सन्तबहादुर चेपाङ जातीय, धार्मिक, लैङ्गिक तथा सामाजिक रूपमा पछि पारिएका समुदायहरूको पहिचान, अधिकार र सम्मानका लागि निरन्तर संघर्षरत नेता हुन्। शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र राज्यको पहुँचजस्ता विषयमा चेपाङ समुदायले भोग्दै आएको संरचनागत विभेदलाई उनले राजनीतिक बहसको केन्द्रमा पुर्याउन भूमिका खेलेका छन्।
यस अर्थमा, उनको राजनीतिक यात्रा नेपाली राजनीतिमा समावेशी लोकतन्त्र र प्रतिनिधित्वको उदाहरणका रूपमा लिइन्छ। सन्तबहादुर चेपाङ आज पनि अल्पसंख्यक, आदिवासी जनजाति र सिमान्तकृत समुदायका युवाहरूका लागि संघर्ष, साहस र सम्भावनाको प्रेरणास्रोत बनेका छन्।










