हाम्रो देश नेपालमा आजभोलि एकदमै गलत र खतरनाक भाष्य जबरजस्त निर्माण हुँदैछ। कुनै व्यक्ति आफ्नो पेशा, व्यवसाय वा सीपमा अब्बल भयो भने, उसैलाई “देश बनाउने मान्छे” घोषित गरिन्छ। सामाजिक सञ्जालमा हल्ला चलाइन्छ—
यसलाई जिताउनुपर्छ, प्रधानमन्त्री बनाउनुपर्छ, मन्त्री बनाउनु पर्छ!
राम्रोसँग पढाउने शिक्षक भयो भने भनिन्छ— अब यही मान्छेले देश बनाउँछ।
रोगीलाई ज्यान जोगाउने डाक्टर भयो भने— अब देश यसैले बनाउँछ। साहसी पत्रकारले प्रश्न गर्यो भने— अब यही नेता हो।
हास्यकलाकार, गायक, अभिनेता लोकप्रिय भयो भने— अब उसैलाई राजनीति! यति सम्म कि, आज नेपालमा आफ्नो क्षेत्रको राम्रो काम गर्न पनि गाह्रो भएको छ।

आफ्नो पेशामा इमान्दार भएर सफल भयो कि,
“अब त चुनाव लड्नुपर्छ, राजनीति गर्नुपर्छ”
भनेर जबर्जस्ती उचालिन्छ, आशा देखाइन्छ, अनि अन्ततः असफल बनाएर पतन गराइन्छ।
तर सत्य कडुवा छ—
देश चलाउनु भनेको
डाक्टरले उपचार गरेजस्तो होइन,
शिक्षकले पढाएजस्तो होइन,
पत्रकारले प्रश्न गरेजस्तो होइन,
हास्यकलाकारले हसाएजस्तो होइन।
राजनीति गम्भीर साधना हो।
देश चलाउन केवल लोकप्रियता होइन—
राजनीतिक विचार चाहिन्छ,
सिद्धान्त चाहिन्छ,
त्याग र तपस्या चाहिन्छ,
वर्षौंको संघर्ष र अनुभव चाहिन्छ,
कूटनीति बुझ्ने क्षमता चाहिन्छ,
भू–राजनीति पढ्न सक्ने दृष्टि चाहिन्छ।
राजनीति स्टेज होइन,
राजनीति प्रयोगशाला होइन,
राजनीति मनोरञ्जन पनि होइन।
राजनीति भनेको राष्ट्रको भविष्यको जिम्मा लिने नेतृत्व हो।
र त्यो नेतृत्व लोकप्रियताबाट होइन,
विचार, निष्ठा र इतिहासबाट जन्मिन्छ।
आज नेपालमा बनाइँदै गएको यो गलत भाष्य—
“जो जहाँ राम्रो छ, उसैले देश चलाउँछ”—
भोलि देशकै लागि महँगो पर्न सक्छ।
आफ्नो क्षेत्रमा राम्रो मान्छे त्यही क्षेत्रमा राष्ट्रको सम्पत्ति हो।
सबैलाई जबर्जस्ती राजनीतिमा धकेल्नु
राष्ट्रलाई प्रयोगशाला बनाउनु सरह हो।
अब जनता सचेत हुनैपर्छ।
लोकप्रियता र नेतृत्वबीचको भिन्नता बुझ्नैपर्छ।
नत्र, भोलि फेरि पछुतो बाहेक केही बाँकी रहने छैन।
देश भावना होइन, विवेकले चलाउनुपर्छ।
राजनीति तालीले होइन, सिद्धान्तले अघि बढ्नुपर्छ।










