बारा जिल्ला अन्तर्गत स्वर्ण गाउँपालिका वडा नं. ६ चौरहियामा नेपाल संघीय समाजवादी पार्टीको एक महत्वपूर्ण संगठनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी रहनुभएको थियो भने विशिष्ट अतिथि पार्टीकी संसदीय दलकी नेता तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री माननीय बिमला अन्सारीको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता मोकादम मियाले गर्नुभएको थियो।

कार्यक्रमबाट पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित बारा जिल्लाको पुनः जिल्ला कमिटी गठन गरिएको छ। नवगठित जिल्ला कमिटीको अध्यक्षमा नुरुल्ला मिया अन्सारीलाई चयन गर्दै उत्तरदायी, समावेशी तथा एकाउन्टेबल सदस्यीय कमिटी गठन गरिएको जानकारी दिइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले पार्टीलाई आगामी राजनीतिक चुनौतीका लागि तयार पार्न संगठन सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले विशेषगरी आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई गाउँ–टोलसम्म सक्रिय रूपमा परिचालित हुन निर्देशन दिनुभयो।
साथै, अध्यक्ष अन्सारीले यही महिनाको पुस २० गते मलाङवामा आयोजना हुने आमसभालाई ऐतिहासिक र सन्देशमूलक बनाउने गरी अधिकतम सहभागिता सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्तालाई स्पष्ट निर्देशन दिनुभयो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि माननीय बिमला अन्सारीले पार्टी जनताको हक, अधिकार र समावेशी लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको बताउनुभयो। उहाँले भन्नुभयो,
“नेपाल संघीय समाजवादी पार्टी केवल सत्ताका लागि होइन, उत्पीडित, पछाडि पारिएका समुदायको न्याय र अधिकार सुनिश्चित गर्न संघर्षरत पार्टी हो। संगठनलाई तलसम्म मजबुत बनाएर जनताको विश्वास जित्नु नै आजको मुख्य आवश्यकता हो।”
माननीय अन्सारीले पारदर्शी नेतृत्व, जवाफदेही संगठन र जनमुखी राजनीति नै पार्टीको मूल शक्ति भएको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई अनुशासित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले पार्टीको नीति, विचार र संगठन विस्तारलाई पारदर्शी, लोकतान्त्रिक र राष्ट्रिय आवश्यकताअनुकूल ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।










