श्रीराम रानाभाट युएई। ” न अधर्म टिक्छ, न अत्याचार ”
सुन्ने भए ,मान्ने भए एउटा कुरा भनुं…?

बेइमानि त घात हो, बरु इमान्दार बनौँ ।
सफल हुन जरुरी छ, सबै सफल हुनु
सफल हुन घर छोड्नु , तर घर नबिर्सनु ।
भरोसा र आशीर्वाद देखिँदैन तर असम्भवलाई पनि सम्भव बनाउँछ । जति पनि चमत्कार हुने गर्छ त्यो विश्वासबाटै हुने गर्छ। कुनै गङ्गाजल अमृत हुँदैन गङ्गाजल प्रतिको हाम्रो विश्वास अमृत हो। कुनै मन्दिरको भाकल पछिको दर्शन हाम्रो उपचार पद्धति होइन । मन्दिरमा राखिएको निर्जीव मूर्तिप्रतिको विश्वास हाम्रो उपचार पद्धति हो । लोकक्ति छ, ‘मलमपट्टि त घाउमा डाक्टरले गर्छन् तर घाउ निको आत्मविश्वासले हुने गर्छ’। मनुष्यको परम पवित्र भावना जसलाई “प्रेम” भनिन्छ प्रेमको पनि सबभन्दा शुद्ध रूप, महत्वपूर्ण उचाइ हो “भक्ति” ।
असुर कुलमा जन्मिएका एकजना बालक जसको नाम थियो प्रल्लाद । जसको शुद्धता र पवित्र निष्ठाबाट भगवान विष्णु प्रसन्न थिए । हिरण्य कश्यप, जसले श्री बर्माको कठोर तपस्या गर्यो, अराधना गर्यो ,वर्षौंको तपस्याबाट ब्र्हमा प्रकट भए र भने, ‘ तपस्वी म तिम्रो कठोर तपस्याबाट प्रसन्न छु, के बर माग्न चाहन्छौ माग’। यही दिनका लागि त उसले घोर तपस्या गरेको थियो । उसले घुर्क्याइका साथ ब्र्हमा सँग भन्यो “भगवान म अमर हुन चाहन्छु ” ब्र्हमा चकित भए ! ब्र्हमाले भने “तपस्वी, भलै यो सृष्टि मैले बनाएको हुँ, तर यसको केही मयार्दा छ । म कसैलाई पनि अमरत्वको वरदान दिन सक्दिन यो मेरो सीमा भन्दा बाहिरको कुरा हो । यसको अतिरिक्त जे माग्नु छ माग ‘। हिरण्य कश्यपले फेरि चलाखी रच्यो । ‘ठिकै छ अमरत्व छोड्नुस्, मलाई यो वरदान दिनुहोस् , ‘ न म घरभित्र मरु ,न घर बाहिर। न रातमा मरु ,न दिनमा । न मनुष्यले मार्न सकोस् ,न पशुले । न अस्त्रले मार्न सकोस् ,न शस्त्रले..मतलब अमरत्वको सबै कुरा…..? उसको चलाखी देखेर ब्र्हमा मनमनै मुस्कुराएर भने “तथास्तु” । वरदान प्राप्त गरेपछि अहङ्कारी हिरन्यकश्यपले सोच्यो अब मलाई कसैले मार्न सक्दैन ।
यही दुर्बुद्धिका कारण पृथ्वीमा अत्याचार गर्न थाल्यो । आतंक मच्चाउन थाल्यो । डरले सबैले उसको पूजा गर्न पर्थ्यो । तर नियतिको योजना बडो कठोर कठोर हुन्छ । जुन हिरण्यकस्यपको आतंकबाट पुरै पृथ्वी उसको पूजा गर्थ्यो उसकै घरमा, उसकै परिवारमा छोरो “प्रल्लाद” आफ्ना बुबाको पूजा गर्नुको साटो भगवान विष्णुको पूजा गर्थ्यो । उसले बुबालाई पनि भन्यो “बुबा मेरा लागि पुज्य हजुर अवश्य हुनुहुन्छ । किनकि हजूर मेरो बुबा हो ,तर भगवानको रूपमा पूजा र प्रार्थनाका लागि केवल सृष्टिका पालनकर्ता श्री विष्णु भगवान हुनुहुन्छ । म उनकै भक्ति गर्छु । बरु हजुर पनि उनकै पूजा, आराधना गर्नुभए हाम्रो कल्याण हुन्छ । अहिले त बुवा बदमास भए छोरो पनि बदमास, बुबा भ्रष्टाचारी भए छोरा पनि भ्रष्टाचारी, लेगेसी (legacy) बोकेका हुन्छन ।
हिरण्यकश्यपलाई छोराको कुराले असह्य भयो । मेरो शरीरको अङ्ग मेरै शरीरलाई भारी…? उसले सिपाहीहरुलाई भन्यो मेरो यो दुष्ट पुत्रलाई बन्दी बनाउनु । मेरो दुश्मनको भक्ति गर्छ । यति यातना दिनु कि भगवान विष्णुको गुणगान गाउन बिर्सियोस् । प्रल्लादलाई बन्दी बनाए, पिट्न, सजाए यातना दिन थाले । यदि आस्था,विश्वास प्रबल भयो भने न अधर्म टिक्छ न अत्याचार । सिपाहीहरूले सोचे राजाको छोरा धेरै यातना दिनु पनि भएन भोलि हामीलाई नै प्राण लिन सक्छन् । उनीहरुले राजालाई भने “महाराज यो बालकलाई कुनै पनि दण्डको असर परेको छैन के गर्नुहोला…? हिरण्यकश्यपले भन्यो “अच्छा” ! उसो भए प्राणदण्ड दिनु , जुन प्राणको भरोसामा यो भगवान विष्णुको नाम लिइरहेको छ’ “न रहन्छ बाँस,न बच्छ बाँसुरी” । जो आज्ञा महाराज ! सिपाहीहरुले प्रहलादलाई एउटा पिजडाभित्र राखेर शेष नागहरू छोडिदिए । अचम्मको कुरा ती नागहरूले उसलाई डस्नु त परको कुरा उसलाई चौतर्फी घेरा बनाएर रक्षा गर्न थाले । यो कुराको चर्चा गाउँ गाउँ, सहर सहर फैलियो कि राजा हिरन्यकश्यप आफ्नो छोरालाई यसकारण मार्न चाहन्छन् किनकि छोरा प्रल्लाद विष्णु भगवानको भक्त हुन् ।
हिरण्यकश्यपले भन्यो ‘यसलाई म स्वयं मार्छु, ल्याउ यसलाई’। महलमा ठुलठुला काठका खम्बा भएको चौखटा थिए । छोरालाई त्यहीं बाँधेर भन्यो ” कहाँ छ तेरो विष्णु भगवान…? छोराले भन्यो ‘बुबा ! ‘भगवान त सबै ठाउँमा छन्’ । जुन खम्बाको सहारामा हिरण्यकश्यप उभिएको थियो, मुक्का मार्दै भन्यो “यो खम्बामा पनि तेरो भगवान छ….? छोराले जवाफ दियो ‘ त्यसमा पनि हुन सक्छन् ‘। उसले जोडले मुक्का मार्यो खम्बामा , खम्बा फुट्यो । भगवान विष्णु आफ्नो नरसिंह अवतारमा त्यही खम्बाबाट पैदा भए । आधा शरीर मनुष्य आधा शरीर पशु । उनले हिरण्यकस्यपलाई दुईटा जाँग्राको बीचमा राखेर लामा लामा नङले गर्दन छेडेर मारिदिए । जुन वरदानका कारण उसले पृथ्वीमा आतंक मचाएको थियो । उसको एउटै सर्त पनि टुटेनन् । भनेको थियो ‘ न घरभित्र मर, न घर बाहिर । ढोकाको चौखटमा मारे । ‘न भित्र न, बाहिर, न रात परिसकेको थियो , न दिन नै बाँकी थियो, साँझको बेला । न पूर्ण मनुष्य भएर मारे न पूर्ण पशुका रुपमा । नरसिंह अवतारमा मारे । यस प्रकार पुरै पृथ्वीलाई उसको आतंकबाट मुक्ति दिलाए ।
कथाको सार के हो : सच्चा मन आस्था र कर्मबाट गरिएको जुनसुकै काम पूर्ण हुन्छ । अहंकार अन्ततोगत्वा पराजय नै हुन्छ । यदि ईश्वरीय वरदानलाई पनि गलत प्रयोग गरियो भने त्यही गति हुन्छ जुन गति हिरण्य कश्यपको भएको थियो । हरेक काम शुद्ध मनवचन र कर्मले गर्नुहोस् तपाईंको विश्वासले साकार रुप लिनेछ ।










