✍️गीदाेन लामिछााने ( तारा ), आज हाम्रो देश गम्भीर आर्थिक, सामाजिक र राजनीतिक संकटतर्फ अघि बढिरहेको छ। यस्तो संवेदनशील घडीमा डिसेम्बर २५ मा ख्रिष्टमसको सार्वजनिक विदा नपरेको विषयलाई लिएर इसाई समुदायभित्र अत्यधिक रोईलो र आक्रोश देखिनु दुखद मात्र होइन, हाम्रो मसीही साक्षीका लागि पनि चुनौतीपूर्ण छ।
हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ—ख्रिष्टमस एक दिनको विदामा सीमित पर्व होइन, यो हृदयको उत्सव हो।
प्रभु येशू ख्रिष्टको जन्म हामी बिहान–बेलुका, घर–मण्डली, काम–सेवाबीच पनि स्मरण र आराधना गर्न सक्छौं। एक दिनको विदा नपाउँदा हाम्रो विश्वास कमजोर हुँदैन, न त ख्रिष्टमसको अर्थ हराउँछ।

येशू स्वयंले भन्नुभयो, “सबाथ मानिसका लागि बनाइएको हो, मानिस सबाथका लागि होइन ।” (मर्कुस २:२७)
यसको अर्थ—धार्मिक दिनभन्दा पनि मानिस, समाज र परिस्थिति महत्वपूर्ण हुन्छन्।
आज जब देश पीडामा छ, जनताको ध्यान रोजगारी, महँगी, असुरक्षा र भविष्यप्रति केन्द्रित छ, त्यस्तो बेला हामीले विदाको मागलाई आन्दोलनको रूप दिनु बुद्धिमानी हुँदैन। बरु, इसाई समुदायले प्रार्थना, सहानुभूति, सेवा र शान्त साक्षी देखाउनुपर्छ।
एक दिनको विदाले केही फरक नपर्ला,
तर हाम्रो परिपक्वता, धैर्यता र देशप्रतिको जिम्मेवारीले ठूलो सन्देश दिन सक्छ।
ख्रिष्टमस हामीले बिहान सबेरै आराधना गरेर, साँझ परिवार र मण्डलीसँग मनाउन सक्छौं। कार्यालय, खेत, पसल वा सेवामा रहेर पनि हामी ख्रिष्टलाई सम्मान गर्न सक्छौं। ख्रिष्टमसको आत्मा विदामा होइन, आज्ञाकारिता, नम्रता र प्रेममा प्रकट हुन्छ।
यसैले, म इसाईको हैसियतले सबै दाजुभाइ–दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु—
विदाभन्दा पहिला देशको पीडा बुझौं,
अधिकारभन्दा पहिला कर्तव्य सम्झौं,
र आवाजभन्दा पहिला चरित्र देखाऔं।
यही नै आजको नेपालमा इसाई समुदायको साँचो र बलियो साक्षी हुनेछ।










