काठमाडौं । आगामी महाधिवेशनलाई लक्षित गर्दै नेपाली कांग्रेसभित्र आन्तरिक तयारी तीव्र भइरहेका बेला मुस्लिम कोटाबाट सह–महामन्त्री पदका लागि युवा नेता डा. अबुल हुसेन अन्सारी उठ्ने पक्का भएको स्रोतले जनाएको छ।
सामाजिक सेवा, स्वास्थ्य क्षेत्रको योगदान र पार्टीभित्र सक्रिय भूमिकाका कारण पहिचान बनाएका डा. अन्सारीलाई मुस्लिम समुदायको सशक्त प्रतिनिधि मानिन्छ। उनी विगतमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य हुँदै काँग्रेस राजनीतिमा उदाएका हुन्।

पार्टीभित्र समावेशी नेतृत्व आवश्यक भएको चर्चा भइरहेका बेला डा. अन्सारीको उम्मेदवारीले मुस्लिम समुदाय मात्र होइन, समग्र रूपमा युवा पुस्ताको प्रतिनिधित्वलाई महत्वपूर्ण रूपमा अगाडि ल्याउने अपेक्षा गरिएको छ।
महाधिवेशन नजिकिँदै जाँदा अन्य पदका उम्मेदवारहरूमाझ पनि सक्रियता देखिन थालेको छ भने डा. अन्सारीको तयारीलाई नेतृत्व तहले पनि सकारात्मक रूपमा हेरेको बताइन्छ।
कांग्रेसको आगामी महाधिवेशनमा उनको उम्मेदवारीले आन्तरिक प्रतिस्पर्धालाई थप जीवंत बनाउने देखिएको छ।










