हिमांशु राय – मोरङ । नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् । मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि ‘स्रष्टासँग शनिवार’ कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् ।
खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, लेटाङ, मिक्लाजुङ, उर्लाबारी लगायतका विभिन्न ठाउँबाट सहभागी स्रष्टाहरूलाई प्रतिनिधिमूलक ढंगले फुटकर रचनावाचनमा सहभागी गराउने आयोजकको भनाइ छ।

साहित्य,कला र सङ्गीतप्रेमी हरेक दर्शक-स्रोताले उपस्थिति जनाउन पाउने र कुनै प्रवेश शुल्क नराखिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा गीतसङ्गीतको समेत प्रस्तुति रहनेछ।










