श्रीराम रानाभाट। “कंश थिए कृष्ण आए, रावण थिए राम आए, दानव थिए देवता आए”
मेरा दुर्गुण र कमजोरी कति गने कति गने
मलाई डगमगाउन मान्छेले के के भने के के भने !!
बिना स्वार्थको को भेटिनु भेटिन्छन् सर्त राख्नेहरु
तिमीलाई म स्वीकार गर्छु मैले चाहेको जस्तो बने !!

हामी सबैमा एउटा साझा समस्या छ हामी बदल्न चाहन्छौं सुधार्न चाहन्छौं आफूलाई होइन तर अरुलाई । हामी आफूले आफैंलाई बदल्न कति कठिन छ अरुलाई कसरी बदल्न सक्छौं ?
एकजना सन्यासी जङ्गलमा,रुखको फेदमा बसेर ध्यान,योग आसन गर्दै थिए । त्यही बाटो भएर केही केटाकेटी विद्यालय जाने गर्थे । उनीहरूलाई ती सन्यासीहरूको गतिविधि देखेर हाँसो लाग्थ्यो किनकि बच्चाहरुले सन्यासीले गर्ने गरेको ध्यान योगको बारेमा बुझेका थिएनन् । उनीहरु मध्ये एकजना बालक अलि बदमास नै थियो । त्यो बच्चा सन्यासीको ध्यान भंग गर्न अनेक उपायहरु रच्ने गर्थ्यो । कहिले उनको नक्कल गर्थ्यो कहिले विभिन्न क्रियाकलाप गरेर जिस्काउँथ्यो । एकदिन त ध्यानमा बसिरहेको अवस्थामा मरेको भ्यागुता ल्याएर काखमा फालिदियो । सन्यासीलाई असह् भयो । यो बालकले दिनसम्मको दुःख दियो । यसलाई तह नलगाई भएन। अर्को दिन ध्यान नगरिकन त्यो बालक आउने बाटोमा एउटा मुहुरो लिएर लुकेर बसे । सबै साथीहरूलाई छोडेर बालक अगाडिअगाडि आइरहेको थियो । पछाडिबाट डण्डाले सन्यासिले टाउकामा बजाउनै लागेका थिए । आकाशवाणी भयो “यो के गर्दैछौ तिमी…? सन्यासीले भने “यो बदमास केटाले मलाई धेरै दुःख दियो। मेरो ध्यान भंग मात्र होइन,असह् गतिविधि गरिरह्यो । यसलाई सुधार्न धेरै प्रयत्न गरें मैले । तर यसको उपद्रोह रोकिएन त्यसैले मैले सहन सकिन। दोस्रोपटक आकाशवाणी भयो “तिमी को हौ यसलाई सुधार्ने..? कहिल्यै उसका बाबाआमासँग गएर कुरा गर्यौ..? जन्म दिने बाबाआमाले आफ्ना बालबच्चा सुधार्न सकिरहेका छैनन्. …। सुधार्ने कुरा पनि गौण भयो । मुख्य कुरा खराब कोही पनि हुँदैन । मात्र उनीहरू हाम्रो मतलबका हुँदैनन्.। तिमीलाई कसले अधिकार दियो उसलाई सुधार्ने..? तिमी यहाँ यति उपद्रो गरेर बसेका छौ तर पनि म सही रहेको छु । सन्यासी छक्क परे। मैले कसरी उपद्रोह गरिरहेको छु उनी सोच मग्न भए ।
अरुको काम कुरा तौरतरिका मलाई मन परेन त म उनीहरूलाई सुधार्न चाहन्छु । कतै मेरो काम अरुलाई मन नपरेको पनि त हुन सक्छ । कतै हामी जे गरिरहेका छौं त्यही अरुलाई उपद्रो लागिरहेको पनि त हुन सक्छ । आज झै झगडा , त्यो भन्दा पनि पर पुगेर सम्बन्ध विच्छेद को मूल कारण के हो । यही अर्कालाई सुधार्ने प्रयास । उसको आनीबानी व्यवहार मन परेन, मेरो जस्तो हुनुपर्थ्यो । यदि उसको अस्तित्व ,आत्म स्वाभिमान र व्यक्तित्वले दिएन भने सम्बन्ध विच्छेद । मदर टेरेसाको भनाइ छ “अहिलेको समाजको सबभन्दा ठूलो समस्या भनेको कुष्ठरोग या क्यान्सर होइन, मानिसले अरुलाई आवश्यक नठान्ने प्रवृत्ति …। आलोचकले सबै कुराको भाउ जान्दछ रे तर महत्व केही कुराको पनि जान्दैन रे ।
हामी आफू कहिल्यै बदलिँदैनौं, वर्षौंदेखि हामीमाथि शोषण गर्दै आएका दलाली, भ्रष्टाचारी, अत्याचारी, चोर, फटाहा,विध्वंसकारी व्यक्तिहरुलाई नेता मानेका छौं भोट दिएका छौं । सत्तामा पुर्याएका छौं । सत्तामा पुगेपछिको उनीहरूको नाङ्गो नाच हेरिरहेका छौं। अनि केही समय धिक्कार्छौ पछुताउँछौं, गाली गर्छौं । केही गरेनन्, गर्दैनन् रोजगार दिएनन्, विकास दिएनन्…..। यस्ता भ्रष्टाचारहरुलाई सुधार्नु छ भने पहिला आफू सुध्रनु पर्यो । नो नट अगेन- विकल्प खोज्नुपर्यो जब हामी विकल्प खोज्छौं उनीहरु आफै बदलिन विवस हुन्छन् । खोजौँ न गतिलो प्रतिनिधि, पुर्याउँन तिनलाई ठाउँमा । ती पनि गतिला लाग्दैनन् भने बाटो खुलेको छ । आफै अगाडि सरौं । उनीहरुलाई बदलिन नपर्ने अधिकार पनि दिने अनि बदलिएनन् पनि भन्ने….?
एडमण्ड बुर्क ले भनेका छन् ” खराब व्यक्तिहरूको आतंकले समाज बिग्रेको होइन बरु असल व्यक्तिहरूको अल्छीपनले समाज बिग्रँदै जाने हो । असल व्यक्ति केही नगरी बसे भने दुर्गुण फैलँदै जान्छ । खराब व्यक्तिको मानसिकतालाई आत्मसाथ गर्दै जाने मानिसलाई असल मानिदैन “। क्रिया भएपछि प्रतिक्रिया हुन्छ । टेबलमा हिर्काइयो भने आवाज आउँछ । त्यसैगरी हाम्रो सोच ,हाम्रो काम ,हाम्रो व्यवहार क्रियाकलापको परिणाम प्रतिक्रिया हो । घरमा छोराछोरीको व्यवहार दिनचर्या पटक्कै मन परेन र बाउले सुधारका लागि दुई चार झापड लगाए, दुई चार वचन लगाए । यो क्रिया थियो प्रतिक्रिया स्वरूप छोराछोरी घर छोडेर हिँडे, गलत व्यक्तिको संगतमा परे । बाउ आमालाई सुधार्ने पिरलो । उता छोराछोरीले जिन्दगीलाई अन्धकारमा धकेले । यही सुधार्ने प्रक्रियामा लागेका हुन्छन् ।
केही नकारात्मक मान्छे आलोचना गरेर उसलाई सुधार्न खोजेको हुँ भन्छन् । उनीहरु जेसुकैको, जोसुकैको आलोचना गर्छन् । जतिसुकै राम्रो गरे पनि उनीहरूको धर्म गल्ती भेटाउनु हो । यिनीहरुलाई उत्साह र प्रेरणाका शोषक भनिन्छ । यस्ता व्यक्ति घर ,समाज, संगठन सबै ठाउँमा भेटिन्छन् । नकारात्मक र खराब कुरा कुनै रोग फैलाएझैँ फैलाउँछन् । परिणाम- नकारात्मक आउने वातावरणको सिर्जना गर्छन् । एउटा बच्चाले साँझ घरमा आमा आएपछि कुरा लगायो “आमा दाइले झ्याल फुटायो”। आमाले सोधिन “कसरी ” ? बच्चाले भन्यो “मैले ढुंगाले हिर्काएको, दाइले छल्यो र ढुंगाले झ्याल फुट्यो । दाइले त हो नि…..।”
हामीले यो बिर्सनु हुँदैन कि हामी एकअर्कामा फरक छौं । पृथ्वीका सबै मानिस एकै प्रकारका हुन्थे भने यो पृथ्वी नै बस्न लायक कहाँ हुन्थ्यो र सबै तपाईं र म जस्ता ,बुद्ध र राम जस्ता । त्यसैले त अस्तित्वले हामी सबैलाई फरक फरक रचेको छ । कंस थिए कृष्ण आए , रावण थिए राम आए , दानव थिए देवता आए, फूल छ काँडा छ ,खोला छ बगर छ स्वीकार गरौं ।
कसैलाई बदल्ने ठेक्का नलिउँ,सकिन्छ आफै बदलिउँ ।










