प्रेम जैरू ” राममणी” । नेपाल एक स्वतन्त्र र सार्वभौम देश हो, जसले कहिल्यै पनि कुनै विदेशी शक्तिको प्रत्यक्ष शासन सहनु परेको छैन। तर पछिल्ला दशकहरूमा नेपालमा देखिएको अस्थिर राजनीति, विदेशी हस्तक्षेप, र राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थको राजनीति ले हाम्रो देशलाई अप्रत्यक्ष रूपमा उपनिवेशजस्तै स्थितिमा पुर्याइरहेको छ। भदै २३-२४ मा भएको Gen -Z आन्दोलन पछि बनेको अन्तरिम सरकारको प्रबक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले मन्त्री परिषदको बैठक पछि यस्तो अभिव्यक्ति दिएका थिए ।
“नेपालमा प्रधानमन्त्री र मन्त्री परिषदले राज्य संचालन गर्ने गरेको रहेनछ” । उनको भनाइमा कता-कता अहिले सम्ममा कुनै पनि सरकार स्वतन्त्र नभएर वाय दबाब/हावी भएको पाइन्छ। र हामी आम जनतालाइ पनि अवगत भएको कुरा हो कि जब कुनै पनि संवैधानिक कुरा होस वा रास्ट्रिय हितका ठुला- ठुला निर्णय गर्दा आफ्नो रास्ट्रको भन्दा अरुको हित हुने निर्णय गर्नु पर्ने अवस्था हुन्दै आएको छ ।

नेपालमा राजनीतिक अस्थिरताको सुरु २०४६ सालपछि बहुदलीय प्रणाली स्थापना हुँदा देखि सुरु भयो। जनताको आशा र विश्वास अनुसार देश विकासको मार्गमा अघि बढ्ने अपेक्षा थियो, तर नेताहरूबीचको प्रतिस्पर्धा, स्वार्थ, र कुर्सीको खेलले देशको गति सुस्त मात्र नभई उल्टो दिशामा मोडिदियो। सरकार बारम्बार परिवर्तन, संसद् विघटन, र राजनीतिक दलबीचको अविश्वासले राज्य सञ्चालन कमजोर बनायो।
राजनीतिक अस्थिरताको यो अवस्थाले विदेशी शक्तिहरूलाई नेपालमा आफ्नो प्रभाव विस्तार गर्न सहज बनायो। उनीहरूले आर्थिक सहायता, विकासको नाममा नीति–निर्णयमा प्रभाव जमाए। यसरी नेपाल आफैं स्वतन्त्र देखिए पनि निर्णयहरू विदेशी शक्तिको दबाबमा हुने क्रम बढ्दै गयो। यही कारणले नेपाल अप्रत्यक्ष उपनिवेश जस्तो अवस्थामा पुगेको छ। जहाँ शासन नेपालीको नाममा हुन्छ तर नियन्त्रण विदेशी हातमा रहन्छ।
अर्को पक्षमा, नेपाली युवाहरू रोजगारीको अभावमा विदेश पलायन भइरहेका छन्। उत्पादनशील जनशक्ति बाहिर जाँदा देशको अर्थतन्त्र वैदेशिक रेमिट्यान्समा निर्भर भयो। यो पनि उपनिवेशीय अर्थतन्त्रको लक्षण हो, जहाँ देशले आफ्ना स्रोत र श्रम विदेशी बजारमा बेचेर बाँच्छ। अस्थिर राजनीतिले शिक्षाको स्तर, स्वास्थ्य, र पूर्वाधार विकास सबै क्षेत्रमा नकारात्मक असर पुर्याएको छ।
नेताहरूले राष्ट्रको हितभन्दा पार्टी र पदलाई प्राथमिकता दिएका कारण राष्ट्रिय स्वाभिमान कमजोर हुँदै गएको छ। यस अवस्थाबाट देशलाई मुक्त गर्न हामी सबैले जागरूक नागरिकको भूमिका निभाउनुपर्छ। राजनीति स्वच्छ, पारदर्शी र जिम्मेवार हुनुपर्छ। युवा पुस्ताले देशमा नै रोजगारी र इमानदार नेतृत्व निर्माणमा योगदान दिनुपर्छ।
नेपाल कुनै पनि विदेशी शासन अन्तर्गत छैन, तर अस्थिर राजनीतिको कारण आजको नेपाल परनिर्भर र दिशाहीन बन्दै गएको छ। जबसम्म देशभित्र स्थायित्व, इमानदार नेतृत्व, र राष्ट्रिय चेतना बलियो हुँदैन, तबसम्म नेपाल वास्तविक स्वतन्त्रताको स्वाद लिन सक्दैन। त्यसैले, नेपाललाई उपनिवेशबाट मुक्त गराउने जिम्मेवारी हामी सबै नेपालीकै काँधमा छ।










