काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले नेपाली क्रान्तिको नायक प्रचण्ड भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा १० दलको एकता घोषणा सभामा बोल्दै यादवले मुलुकको निकास निकाल्ने विश्वास व्यक्त गरे ।
‘क्रान्तिको नायक प्रचण्ड हुन् । मैले विश्वास लिएर माओवादीको चुनाव चिन्हमा चुनाव लडेँ । जेनजीको आन्दोलनमा म प्रचण्ड र माधवसँगै थिएँ । मैले एमाले देखिनँ, कांग्रेस देखिनँ’, उनले भने, ‘मैले प्रचण्ड र माधवलाई देखेँ । त्यसदिन उहाँहरूले बिहान चार बजेसम्म सक्रिय भएर निकास दिनुभयो । उहाँको काँधमा धेरै जिम्मेवारी छ । यसको निकास निकाल्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठुलो समस्या आन्तरिक लोकतन्त्र भएको उनले बताए । पार्टी एकतापछि आन्तरिक लोकतन्त्र बलियो बनाउने विषयमा ध्यान दिने र सबै खाले विभेदको अन्त्य हुनेमा विश्वास लिएको यादवले भने । प्रचण्डले माओवादी त्यागेकोमा उनले खुशी व्यक्त गरे ।










