समिक्षक : केशु विरही। नेपालको पूर्वी झापा जिल्लामा, बुवा श्रीकृष्ण दुलाल र माता पवित्रा दुलालकी पाँचौँ सुपुत्रीका रूपमा जन्म लिएकी राधा कार्की मूलतः लघुकथा, कथा, कविता तथा बालसाहित्यका क्षेत्रका रूपमा कलम चलाउँदै आएकी छन् ।
२०५८ सालमा छहरा पत्रिकामा ‘तिम्रो अनुपस्थितिमा’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यकाशमा उदाएकी कार्कीका संवाहक (लघुकथासङ्ग्रह, (२०७०, दो.स. २०७१), पप्पी र पट्टु (बालकथासङ्ग्रह –२०७५), शाश्वत आकृति (कवितासङ्ग्रह – २०७८) गरी तीनओटा कृतिहरू प्रकाशित भएका छन् । यसका अतिरिक्त उनका छहरा, मधुपर्क, गरिमा, मन, साहित्य सागर, शारदा लगायतका विभिन्न पत्रपत्रिकामा साहित्यिक रचनाहरू प्रकाशित भएका छन् ।

पछिल्लो समय बालसाहित्य निकै पढिने विधाका रूपमा विकास भएको अवस्था छ । त्यसमा पनि बालकथा बालबालिकाद्वारा अभैm रुचाइने विधा पनि हो । यसमा धेरैको आकर्षण रहेको देखिन्छ । राधा विशेष गरेर बालमनोज्ञिानमा आधाररित भएर कथा लेख्ने गर्छिन् । उनका कथामा विद्यमान नेपाली समाजमा रहेका बालश्रम, बालशोषणको विषय पाइन्छ । बालबालिकालाई काचो माटो ठान्ने उनी कहीँ लड्दै त कहीँ लरखराउँदै अगाडि बढाउँन चाहन्छिन् । उनी कथामार्फत् बालबालिकाको विद्यालय गएर पढ्न पाउने अधिकारका पक्षमा उभिएकी छन् । उनका कथाले बालबालिकालाई खेल्दै पढ्दै अघि बढ्न प्रेरणा दिने गर्दछन् ।
बालबालिका भनेका आजका हाम्रा कलिला मुना हुन्, उनीहरूले फक्रन पाउनुपर्छ, फुल्न पाउनुपर्छ भन्ने कुराको उनले वकालत गरेकी छन् । बालबालिकालाई उचित संस्कारको खाँचो रहेको छ, उचित संस्कार दिन सकेमा मात्र उनीहरूले भविष्यमा केही गर्न सक्छन् भन्ने धारणाका साथ यो कथासङ्ग्रह बाहिर ल्याइएको लेखक स्वयम्को भनाइबाट प्रस्ट हुन जान्छ ।
कृतिमा शुभकामना मन्तव्यमा पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले उनलाई एक जना जिज्ञासु एवम् उदीयमान स्रष्टाका रूपमा चित्रित गरेका छन् ।
‘पप्पी र पट्टु’ कथासङ्ग्रहको विवेचना
‘पप्पी र पट्टु’ राधा कार्कीको दोस्रो तथा पहिलो बालसाहित्यको कृति हो । २०७५ सालमा प्रकाशित, मकालु प्रकाशन गृह प्रकाशक रहेको यो कृति (अतिरिक्त ८ +७६ ≠ ८४) ८४ पृष्ठमा अनुबन्धित रहेको छ । ‘पप्पी र पट्टु’ कथासङ्ग्रहमा विभिन्न भावका १३ ओटा बालकथा रहेका छन् । कृतिमा सङ्कलित कथालाई सङ्क्षिप्त रूपमा विश्लेषण गरिएको छ :
‘विवेकको माया’ सङ्ग्रहको पहिलो कथा हो । यस कथामा बालसुलभ प्रेम तथा गरिवीको पीडा पाइन्छ । बालबालिका भगवान्का उपहार हुन् । उनीहरूमा कुनै लोभ लालच हुँदैन, उनीहरू भित्री मनदेखि नै प्रेम गर्छन् भन्ने सारवस्तु यस कथामा पाउन सकिन्छ ।
‘रानी मौरी’ शीर्षकको कथामा प्रकृतिको सुन्दर चित्रण पाइन्छ । मानिसका अदक्ष स्वभावका कारण प्रकृतिमाथि हुने गरेको विनासलाई यहाँ कथामार्फत् प्रस्तुत गरिएको छ । यहाँ अभिभावकको भूमिकालाई सघन रूपमा उठाउन खोजिएको छ ।
‘कमलको सपना’ शीर्षकको कथामा असल मित्रले खेल्नुपर्ने भूमिकाका बारेमा बताइएको छ । शिक्षाले मानिसलाई जीवन जिउन सहयोग गर्ने हुँदा सबैले पढ्नुपर्ने कुरा उठाइएको छ । यसमा माओवादी द्वन्दको घाउलाई पनि देखाइएको छ ।
‘पछुतो’ शीर्षकको कथामा अभिभावकको भूमिका माथि प्रश्न उठाइएको छ । आफ्ना सन्तानलाई असल संस्कार दिन नसक्ता शुरवीर आफ्नो अध्ययन पूरा गर्न सक्तैनन तर उता मनुले भने राम्रो अङ्क ल्याएर उत्तीर्ण हुन्छे । अन्तमा मुखियाले आफ्नो व्यवहारमा पछुतो हुन्छ ।
‘साहसी गायत्री’ शीर्षकको कथामा गरिबीको चित्रण पाइन्छ । गरिब बालबालिकालाई चोरको संज्ञा लगाउने चलनको यहाँ विरोध गरिएको छ । यसमा बाल अधिकारका बारेमा प्रश्न उठाइएको छ ।
‘पप्पी र पट्टु’ शीर्षकको कथा यस सङ्ग्रहको छैटौँ कथा हो । यो सङ्ग्रहको शीर्ष कथा पनि हो । यस कथामा ‘वनको चरी वनमै रमाउँछ, उनीहरूलाई थुनेर राख्नुहुन्न’ भन्ने भाव व्यक्त भएको छ । यस कथालाई पशुअधिकारका रूपमा पनि लिन सकिन्छ ।
‘बुद्धिमानी करुणा’ शीर्षकको कथामा करुणाको बुद्धिमत्तापूर्ण व्यवहारले एक जना बिक्री गर्न लगिएकी बालिकाको जीवन रक्षा भएको छ । उसले अन्नतः अभिभावक पाएकी छ । यस कथामा गरिवीको पीडा प्रस्तुत भएको छ । गरिवीकै कारणले आफ्नी छोरीलाई छिमेकीलाई साथमा पठाउन विवश भएको परिवारको कथा समेटिएको छ । माइती नेपाल नामक संस्थाको भूमिका पनि यहाँ उजागर भएको छ ।
‘रामेको सपना’ शीर्षकको कथामा गरिवीको पीडा पाइन्छ । गरिवीकै कारण साहुकहाँ बस्न पुगेको रामेले विद्यालय गएर पढ्न पाएको छैन । रमाजसेवी निर्मलाका कारणले उसले नयाँ जीवन पाएको छ । यो बालअधिकारका विषयमा लेखिएको सफल कथा हो ।
‘सुरजको सावधानी’ शीर्षकको कथामा सानो सावधानीका कारण दुई जना बालिकाको जीवन रक्षा भएको कथा रहेको छ । बुवाले खाने औषधि दाजुबहिनीले खाएपछि एक्कासी बिरामी हुन्छन् । उनीहरूलाई सुरजको सहयोगमा तुरुन्त अस्पताल लगिन्छ । उनीहरूको जीवन बाच्छ । यो कथा ‘डाक्टरलाई नदेखाई औषधि खानुहुन्न’ भन्ने शिक्षा दिन सफल भएको छ ।
‘समझदारी’ शीर्षकको कथामा मानिसका स्वभावका बारेको अध्ययन गरिएको छ । मानिसका आआफ्नै स्वभाव हुन्छन् ती स्वभावलाई अरूले सम्मान गर्नु पर्छ भन्ने पाठ पाउन खोजिएको छ । अँगालो होल्ने साथीको बानीले आरजुले विद्यालय नै छोड्न लागेको थाहा पाएर आमाले त्यस समस्याको निदान गरिदिएकी छन् ।
‘जीवा र बुनु’ शीर्षकको कथामा कुनै पनि प्रश्नको उत्तर कहिलेकहीँ उही समयमा नआएर धेरै समयपछि पनि प्राप्त हुन सक्छ भन्ने ज्ञान दिनखोजिएको छ । यहाँ ६ बर्से उमेरमा घटेको घटनाको उत्तर बुनुले पछि आफू बृद्ध भएपछि मात्र पाउँदछिन् ।
‘असल मान्छे’ शीर्षकको कथामा सुचित्रा नामकी असल मानिसका कारणले एउटी नाबालिकको जीवन बनेको छ । सौतेनी आमाका कारण घर छोड्न विवश ती बालिकाले सुचित्राको माया पाउँछिन् र उनको नयाँ जीवन सुरु हुन्छ ।
‘कोपिलाको प्रयास’ शीर्षकको कथा बालअधिकारका बारेमा लेखिएको कथा हो । यस कथामा विद्यालय गएर पढ्नु बालबालिकाको अधिकार हो, उनीहरूलाई यो अधिकारबाट वञ्चित गराउन पाइँदैन भन्ने शिक्षा दिइएको छ ।
‘पप्पी र पट्टु’ कथासङ्ग्रहको शक्ति र सीमा
शक्ति:
१) सिकाइका लागि उपयोगी : यस सङ्ग्रहका कथाहरूले मनोरन्जन मात्र नभएर सिकाइलाई सहयोग पुग्ने खालका छन् । बालबालिकामा असल संस्कारको आवश्यकता छ, असल संस्कारले मात्र उनीहरूको मानसिक विकास सम्भव छ भन्ने बुझाइ लेखकको रहेको पाइन्छ । त्यही भएर उनले कथामार्फत् अभिभावक तथा शिक्षकलाई समेत बालबालिकामा असल संस्कारको विकास गर्न आग्रह गरेकी छन् ।
२) बाल अधिकारमा जोड : सङ्ग्रहभित्रका कथाहरूले बालअधिकारमा विशेष जोड दिएका छन् । बालबालिका भोलिका देशका कर्णधार हुन् । उनीहरूको अधिकार हनन् हुनु भनेको उनीहरूलाई भोलि देशका लागि केही गर्ने शक्ति बाटोमा अवरोध सिर्जना गर्नु हो भन्ने कुरालाई कथामा जोड दिइएको पाइन्छ ।
३) बाल मनोविज्ञानमा जोड : सङ्ग्रहभित्रका कथामा मनोविज्ञानको प्रस्तुति पाइन्छ । बालबालिको मनोविज्ञान बुझेर मात्र शिक्षण गरिनुपर्छ भन्ने मान्यतामा लेखक सचेत देखिएकी छन् । उनी कोरा पठन मात्र शिक्षण नभएर बालबालिकाको रुची र चाहना बुझेर पढाउन आग्रह गदैछिन् ।
सीमा :
१) वर्णविन्यासागत त्रुटि : सचेत हुँदाहुँदै पनि केही ठाउँमा वर्णविन्यासगत त्रुटि हुन पुगेको पाइन्छ । ‘क्षतिपूति दीर्घी भवन’ भनी दीर्घ लेख्तै आएको अवस्था थियो । तर नेपाली बृहत् शब्दकाको दसौँ संस्करणले (पुनर्मुद्रित संस्करण २०७७) ले त्यस्ता शब्दलाई ह्रस्व नै लेख्ने भनेको र त्यस्तै लेख्तै आएको अवस्था पनि थियो । तर यस कृतिमा भने उही पुरानै नियमअनुसार दीर्घ नै लेखिएको पाइन्छ (हे.पृ.५०) । पछिल्लो समय वर्णविन्याससम्बन्धी केही विवाद देखिएको छ । तर यो कृति प्रकाशित हुँदाका बखत् भने यो समस्या थिएन । तसर्थ यसलाई त्रुटि मानिएको हो । त्यस्तै कृतिभित्र ‘बुनु’ लाई कहीँ ‘बुनु’ त कहीँ ‘बुनू’ लेखिएको पाइन्छ (हे.पृ.६२) । यद्यपि यो प्राविधिक त्रुटि पनि हुन सक्छ ।
निष्कर्ष :
लामो समयदेखि नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने कार्कीको संस्थागत सक्रियतासमेत राम्रै देखिन्छ । उनी नोकरीबाट निस्किएको समयलाई नेपाली साहित्यको श्रीवृद्धिमा लागेकी छन् । विभिन्न पुरस्कार, सम्मान तथा पदकसमेत प्राप्त गरेकी उनका कथा, कविता, बालकथा र लघुकथाका सङ्ग्रह प्रकाशनको सङ्घारमा रहेका छन् । परिष्कारले मानिसलाई अझ अब्बल बनाउँदै लैजान्छ । स्रष्टाका हकमा त झन परिष्कार अपरिहार्यजस्तै हो । आगामी दिनमा अझ सशक्त रचना आउने कामना गर्दै उनको साहित्यिक उन्नयनको कामना गर्दछु । जय साहित्य ।










