श्रीराम रानाभाट।आवरणमा गरिएको प्रित साँचो प्रित हुँदैन, छुनुपर्छ हृदयमा नत्र गीत गीत हुँदैन
जीवन हिजो पनि थियो र आज पनि छ
तर भोलि पनि हुन्छ भन्ने निश्चित हुँदैन “।

मायाको बदलामा मायाकै आस थियो तर घृणा गरेर गई….. भन्नेहरू धेरै छन् यहाँ । टुटेका र दुखेका दिल बोकेर हिँड्नेहरू धेरै छन् यहाँ । प्रेम अन्धो हुन्छ भनिन्छ किन..? अन्धो प्रेमको सुरुवात आमाबाट भएको हो, आमाले बच्चालाई नदेखी कनै प्रेम गर्छिन् गर्भदेखि नै । तर आजकल मायाको खेललाई प्रेमको नाम दिन थाले ।
एकपटक एउटा नयाँ जोडी समुद्रको डुङ्गामा यात्रा गरिरहेका थिए । युवक एउटा योद्धा थियो तरबार चलाउने योद्धा । धेरै टाढासम्म उसको युद्ध कलाको, उसको वीरताको चर्चा थियो । जो माथि उसको तरबार बज्रियो उ सकियो । उनीहरु आनन्दित यात्रा गरिरहेका थिए । अचानक आँधीबेहरी आउन थाल्यो युवती डराएर काप्न थाली । अब मरिने भइयो…. तर युवक अडिक थियो निष्कम्प,निश्चित, पहिलाको जस्तै । आँधी हुरी आएको र नआएको फरक परेको छैन, यस्तो प्राकृतिक विपत्तिसँग पनि नडराउने उसलाई युवतीले सोधी “तपाईँलाई डर लागेको छैन..? युवकले जवाफ दिनुको साटो म्यानबाट तरबार झिक्यो र युवतीको घाँटीमा राख्यो । रौँ जति मात्र फरक छ । झड्का लाग्यो कि गर्दन छैन….। डुङ्गा हल्लिरहेको छ आँधीबेहरी छ । अघि त्यो आँधीबेहरीसँग डराइरहेकी युवती मुस्कुराई रहेकी छ । युवकले सोध्यो किन….डर लागेन ? तरबार यति नजिक छ । युवतीले भनी डर किन..? तरबार कसको हातमा छ…? दुश्मनको हातमा त छैन,मेरो प्रेमको हातमा छ । तरबार कसको हातमा छ त्यस अनुसार भया उत्पन्न हुन्छ …। भयबाट प्रेम उत्पन्न हुँदैन जहाँ अविश्वास छ भने त्यहाँ प्रेम हुँदैन, त्यहाँ देखावटी माया हुन्छ । माया र प्रेममा ठूलो अन्तर छ र त आजकाल मायाका खम्बाहरु लडेको लडाई गर्छन् । युवकले तरबारलाई म्यानमा राख्यो र भन्यो तिमीलाई मेरो प्रेममा विश्वास भएझैँ परमात्माको हातमा तुफान छ । जो सँग हाम्रो प्रेम छ, जो सँग हामी श्रद्धाले झुक्छौ उ सँगै किन डराउने…? अशुभ त्यहाँ हुन्छ जहाँ संकोच हुन्छ ।
दुई दाजुभाई थिए बाबाआमा गुमाएका । मृत्युभन्दा पहिले नै बाबाआमाको मनमा त्यो ख्याल थियो कि भोलि दुई भाइमा अंशबण्डालाई लिएर विवाद उत्पन्न हुन सक्छ । त्यसैले उनले मृत्युको अन्तिम पलमा सबै कुरा भोलि छुट्टिन परेको खण्डमा यति चिज दाइको यति चिज भाइको भनेर प्राण छोडेका थिए । ती दुई भाइमा यति गहिरो मिलाप थियो कि हर ठाउँमा सँगै हर चिजसँगै । एकअर्काले एकअर्काको अभिभावकीय भूमिका खेलेका थिए । मान्छेहरु कुरा गर्थे भोलि विवाह पछि पनि यस्तै होलान् कि परिवर्तन होलान् । समयसँगै दाजुको विवाह भयो । कोही नारीले आमाको नियास्रो मेटाउँछन् कसैले दिदीबहिनीको तर कसैले भएको सबै सम्बन्धलाई चुडचाड पारिदिन्छन् । ती भाउजुले त्यसरी नै माया गर्छिन् तर मान्छेको मन सधैँ एउटै पनि काम हुन्छ र ईर्ष्या डाहा उत्पन्न हुने नै गर्छ । उनलाई आफ्नो पति आफूसँग भन्दा भाइसँग नै घुमफिर गरेको,समय बिताएको मन पर्न छाड्यो । आफ्ना कति कुरा भन्न होलान् सँगै साथमा बसौं भन्ने होला…उनले अनेक तरहका असन्तुष्टिहरु झल्काउन थालिन् । भाउजुका यी असन्तुष्टिका हावाहरूले देवरका कान चिसो बनाउँथ्यो । भाइको माया अथाह थियो दाईलाई । श्रीमतीको भावनाको कदर पनि गर्नुपर्यो तर भाइलाई के भन्ने कसरी भन्ने ।
एकदिन भाइले नै दाइको असहजतालाई महसुस गरेर मुख फोर्यो “दाई हामी दाजुभाइ त दाजुभाइ नै छौं । हामीले भाउजुलाई राम्रो वातावरणको सिर्जना गर्नुपर्छ । उहाँको भावनाको कदर गर्नुपर्छ । उहाँलाई कदर गर्नका लागि म पल्लो घरमा सर्नुपर् । दाइले नाइनास्ती गर्दागर्दै पनि भाइले जिद्दी गर्यो । बाबाले छुट्याए अनुसार नै भाइले पल्लो घरमा बिस्तारा सार्यो । खेतबारी जायजेथा भएका दाजुभाइ,अन्नहरू एउटै घरमा राख्थे । जसलाई धनसार भनिन्थ्यो । एकै ठाउँमा उब्जनी गर्थे तर भकारी अलग अलग बनाउथे । जब दाजु,भाउजु हुँदैनथे, भाइ त्यो गोदाममा जान्थ्यो र आफ्नो भागको पाँच छ मुरी धान दाइको भकारीमा खन्याउँथ्यो यो सोचेर कि दाइसँग परिवार छ, अब छिट्टै बच्चा पनि हुनेछन् । म एक्लोलाई किन चाहियो यति धेरै…। भाइ नभएको मौका पारेर दाइ गोदाममा जान्थ्यो, दुई चार मुरी धान भाइको भकारीमा खन्याइदिन्थ्यो । त्यो सोचेर कि अब भाइको पनि बिहे गर्नुपर्छ, परिवार हुनेछन्, हामीलाई किन चाहिएको छ यति धेरै….। दुइटैको क्रियाकलाप दुइटैलाई थाहा छैन तर घटि र बढी कतै पनि छै । तर दाजुभाइको स्नेह ,प्रेम ,सम्मान दिनानुदिन बढ्दै गएको थियो । त्यो प्रेम थियो, माया थियो, आदर थियो, भातृत्व थियो । बिना शर्त बिना, स्वार्थ । यदि स्वार्थ हुन्थ्यो भने नदेख्ने गरेर लिने र देख्ने र देखाउने गरेर दिने गर्थे । त्यो देखावटी हुन्छ त्यहाँ हेर्नका लागि दृश्य त हुन्छ तर त्यो दृश्यमा भावना हुँदैन । जब भावना हुँदैन भावनात्मक सम्बन्ध हुँदैन । आजकल यस्ता कुराहरुको बिक्री हुने ठाउँ त छैन तैपनि पारिवारिक प्रेम स्नेह माया सद्भाव बनाइ राख्नुहोस् । त्यो नै तपाईंको सम्पत्ति हो बाँकी त केवल आँखाको भ्रम मात्र हो । त्यही भ्रम पनि मान्छेलाई ईर्स्या गर्ने साधन मात्र बन्छ ।
त्यसैले निशर्त , निस्वार्थ प्रेम जो बाट पाइन्छ त्यो नै प्रेम हो बाँकी लेनदेन नै हो ।










