काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत आपूर्ति गरिएको विद्युत्को महसुल तिर्न अस्वीकार गरेका छ वटा ठूला उद्योगहरूको लाइन काटेको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सका विद्युत् लाइन काटिएका हुन्।

यी उद्योगहरूले लामो समयदेखि विद्युत् महसुल नतिरेको र बारम्बारको चेतावनीका बाबजुद पनि बक्यौता नबुझाएको प्राधिकरणले जनाएको छ।
डेडिकेटेड र ट्रंकलाइनमार्फत आपूर्ति हुने विद्युत् महसुल उठाउने विषय सन् २०७५ सालदेखि विवादास्पद बन्दै आएको छ। त्यसै वर्ष तत्कालीन प्राधिकरण सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक बक्यौता अध्ययन समिति गठन गरिएको थियो। सो अध्ययन प्रतिवेदन २०७५ वैशाख ३१ गते बसेको सञ्चालक समितिमा पेश गरिएको भए पनि त्यसयता उक्त विवाद समाधान हुन सकेको छैन।
प्राधिकरणले बक्यौता असुलीका लागि पछिल्ला वर्षहरूमा पटक–पटक चेतावनी, सम्झौता प्रयास र कानुनी प्रक्रिया समेत अघि बढाएको थियो। अब महसुल तिरेपछि मात्रै ती उद्योगहरूको लाइन पुनः जडान गरिने प्राधिकरणले स्पष्ट पारेको छ।










