श्रीराम रानाभाट। आफूसँग के भयो भने म सबैभन्दा धेरै खुसी र सन्तुष्टि हुन्छु भन्ने लाग्छ ? यदि तपाईँलाई सोधियो तपाईंको सफलताका लागि तपाईंसँग भएको सबैभन्दा महत्वपूर्ण चिज के हो….? तपाईंलाई लाग्छ मेरो शिक्षा, मेरो क्षमता, मेरो भाग्य, मेरो मेहनत । तपाईंको विचार पनि सही हुन सक्छ तर दुनियाको सबैभन्दा नामी विश्वविद्यालय हावर्ड विश्वविद्यालयद्वारा गरिएको सर्वेक्षण अनुसार हाम्रो सफलता असफलता, प्राप्ति या नोक्सानमा ८५% त्यो वस्तु /चिज या कामलाई हेर्ने हाम्रो दृष्टिकोण र केवल १५% मात्र हाम्रो ज्ञान शिक्षा या क्षमताले काम गर्छ ।
हामी हाम्रो दृष्टिकोणकै कारण, आफूले हेर्ने हेराईकै कारण, आफैसँग भएको चिज पनि देख्दैनौं । त्यसको मूल्य लगाउन जान्दैनौं या अवमूल्यन गर्छौ । प्रेमकै कुरा गरौँ । जब कसैसँगको सम्बन्धमा हुन्छौं ।एकले अर्कोको भावना बुझ्दैनौं ।कदर गर्दैनौँ । अबमूल्यन गर्छौं ।अलग नै हुन पाए हाईसन्चो हुन्छ भन्ने लाग्छ तर जब अलगिएर जान्छ एउटा त्यस्तो बेला आउँछ, चरण आउँछ त्यो व्यक्ति जस्तो मूल्यवान व्यक्ति न कोही थियो न कोही हुनेछ भन्ने लाग्छ ।

अफ्रिकामा हाफिज नामको एउटा सुखी र सन्तुष्ट किसान बस्थ्यो । ऊ खुसी थियो किनभने ऊ सन्तुष्टि थियो । सन्तुष्टि थियो किनभने ऊ खुसी थियो । एकदिन एकजना विद्वान व्यक्ति उसको घरमा आयो र हिराको बारेमा धेरै कुरा बतायो । यदि तपाईंसँग बुढी औंला जत्रै मात्र हिरा छ भने पनि तपाईंले एउटा सिङ्गो सहर किन्न सक्नुहुन्छ । हिरा त्यति मूल्यवान चिज हो भनेर हिराको महत्व बताएर गयो । त्यो रात हाफिज सुत्नै सकेन । छटपटी भइरह्यो । मैले यति दुःख गर्छु परिवारसहित। मसँग यति यही बस्ने ठाउँ छ र खानाका लागि अन्न तर एक मुठी जत्रो हिरा हुन्थ्यो भने मसँग के पो हुन्नथ्यो र…? ऊ दुःखी हुन थाल्यो किनकि ऊ आफूसँग जे छ त्यसमा पहिलो पल्ट असन्तुष्ट अनुभव गरिरहेको थियो । ऊ असन्तुष्ट थियो किनकि ऊ दुःखी भइसकेको थियो ।
भोलिपल्ट बिहानै हाफिजले आफ्नो खेत बेच्ने र परिवारसहित हिरा खोज्न निस्कने बन्दोबस्त मिलायो । कोही एक व्यक्तिलाई घरखेत सबै बेच्यो र घर छोडेर पुरै अफ्रिका महादेश घुम्यो । ऊ युरोप हुँदै स्पेनसम्म पुग्यो कहिँ हिरा भेटिएन । हिरा कतै फेला पार्न सकेन । त्यतिन्जेल त ऊ शारीरिक, मानसिक र आर्थिक रूपले पनि कमजोर भइसकेको थियो आखिरमा आफ्नो मातृभूमि, आफ्नै विगतको सम्पत्ति सम्झ्यो। विगतको जिन्दगी सम्झ्यो । यिनै दुःख र पीडामा आफ्नै जिन्दगीको बाटो लिन बाध्य भयो । उता जसले उसको घर किनेको थियो त्यो व्यक्ति बिहानै खेतमा पानी लगाउन गएको थियो । त्यो खेत हुँदै एउटा खोला बग्थ्यो । खोलापारी सूर्यको बिहानी किरणहरु एउटा ढुङ्गामा टल्कदा इन्द्रेणी परेको थियो । उसले सोच्यो यो चम्कने ढुङ्गा घरमा लगेर कोठामा सजाएर राख्दा राम्रो पो देखिने रहेछ भनेर ढुंगालाई ल्याएर कोठामा राख्यो । एकदिन तिनै विद्वान जसले हाफिजलाई हिराको महत्त्व बताएका थिए उसको घरमा आए एकछिन बसेर त्यो चम्कने ढुङ्गा देखेर ती व्यक्तिलाई सोधे” हाफिज फर्केर आए..? नयाँ खेतको मालिकले “भन्यो छैनन् … किन केही काम थियो र उसँग ?” विद्वानले भने हैन केही काम छैन तर तपाईंको त्यो तख्क्तामा राखेको हिरा देखेर सोधेको । किनभने मैले उनलाई हिराको महत्व बताएको थिएँ । हिरा परैबाट चिनिन्छ नि । विद्वानको कुरा सुनेर त्यो नयाँ किसानले अचम्म मान्दै भन्यो त्यो ढुङ्गा त मैले हिजो मात्र खेतबाट ल्याएको तपाईं यसलाई हिरा मान्दै हुनुहुन्छ यस्ता ढुंगा त जति खोजे पनि पाइन्छन् त्यहाँ । नपत्याए हिँड्नुस् म देखाइदिन्छु उनीहरु खोला किनार को खेतमा गए र केही चम्किला ढुङ्गा जम्मा गरेर परीक्षणका लागि पठाइदिए साँच्चै नै ढुङ्गा त हिरा नै रहेछन् । त्यो खेत हिराको खानी रहेछ । जुन खेत हाफिजले कौडीको मूल्यमा बेचेर हिरा खोज्न हिँडेको थियो ।
यो छोटो कहानीको सारांश के हो …..?
१) अरुको खेतको घाँस जहिले हरियो देखिन्छ । मौकाहरू सधैं हाम्रो पैतालामुनि हुन्छन् तर खोजी अनत्रै गरेका हुन्छौं ।
२)अरु व्यक्ति हामीसँग भएको चिज देखेर लोभिन्छन् हामी अरुसँग भएको चिज पाउन भागदौड गरिरहन्छौँ ।
३) मौकाहरू हामीतिर आइरहेका बेला भन्दा हामीबाट टाढा गइरहेको बेला स्पष्ट देखिन्छन् । मौकाले केवल एकपल्ट आफू आएको जनाउ दिन्छ र त्यसपछि आउने त गर्छ चिने राम्रो नचिने ठिकै छ ।
४) हरेक चिजमाथि हामीले हेर्ने दृष्टिकोणले हाम्रो लक्ष्य हाम्रो खुसी हाम्रो सन्तुष्टिहरुलाई सिमित बनाइदिन्छ ।
५) म स्वयं मलाई कसरी हेर्छु ?अरुभन्दा नराम्रो…कुरुप, अज्ञानी, अशिक्षित, गरिब…..?यही मेरो हेर्ने दृष्टिकोणले मेरो आत्मविश्वास, आत्मसम्मान र आत्मसन्तुष्टिलाई अग्लो र होचो बनाउँछ ।
म मै भित्र छु । अन्यत्र छैन । यदि म यहाँ आधा खुसी छु भने पनि पूरै खुसी खोज्नका लागि अन्यत्र जानु हुँदैन ।
हेराइलाई बदल्यो भने सीतारा बदलिन्छ ,
सोचाइलाई बदल्यो भने साहारा बदलिन्छ ,
डुङ्गाहरु बदल्दैमा किनारा भेटिँदैन ,
तर दिशालाई बदल्यो भने किनारा बदलिन्छ ।










