श्रीराम रानाभाट। “नभन बिना आगो पनि, जलिरहेको छु
शुभ नभई साँझ बनी, ढलिरहेको छु
समयले भन्छ एकदिन ,तिमी ठिक थियौ
खराब त म आफै, चलिरहेको छु । ”
जसरी एउटा फलामलाई कसैले नष्ट गर्न सक्दैन तर आफैमा लाग्ने खियाले सक्छ । एउटा व्यक्तिलाई कसैले हराउन सक्दैन हराउँछ त,आफ्नो सोच र विचारले । नदीमा खस्ना साथ मृत्यु हुँदैन, मृत्यु तब हुन्छ जब पौडिन आउँदैन । ठिक त्यसैगरी कुनै पनि परिस्थिति आफैमा समस्या हुँदैन समस्या तब बन्छ जब त्यो परिस्थितिसँग खेल्न आउँदैन ।

एकदिन मौसम बदलिँदै थियो । जोडजोडले हावा हुरी चलिरहेको थियो । अचानक बिजुली चड्कियो र आगो लाग्यो जङ्गलमा । सबै जनावर ज्यान बचाउन भागिरहेका थिए । यसमा एउटा मृगिनी पनि थिई । प्रति घण्टा करिब ६०-६५ किलोमिटर दौडिन सक्ने मृगलाई त्यहाँबाट भाग्न ठूलो कुरा थिएन, तर मृगिणीको समस्या अरु बेग्लै थियो । त्यसरी भाग्न सक्ने अवस्थामा थिइन,जसरी उ भाग्न सक्थि । ऊ गर्भिणी थिई बच्चाहरूको आमा बन्नेवाली । ज्यानको माया त थियो नै त्योभन्दा पनि बढी माया थियो गर्भमा भएका बच्चाबच्चीको । ऊ भाग्दा भाग्दै एउटा नदी किनारमा पुगी । पानी पिएर लामो सास फेरी । त्यहाँबाट एउटा सुरक्षित ठाउँ खोजिरहेकी थिई ,जहाँ पुगेर गर्भका सन्तानलाई जन्म दिन सकुँ । अचानक उसलाई लाग्यो कि कोही मेरो पिछा गरिरहेको छ । आँखा घुमाएर हेरी त झाडीमा लुकेर एउटा सिकारी बसिरहेको थियो । त्यो पर्खाईमा थियो कि कतिबेला यो मृगिणी माथि गोली बर्साउन सकौं । मृगिणीले सोच्नै सकिन कि के भइरहेको छ । एकातिर जङ्गलमा लागेको आगोबाट बचेर आएँ भन्ठानेकि अर्कातिर सिकारी बन्दुक ताकेर बसेको छ । नदीमा हाम फाल्ने अवस्था छैन । ऊ आफ्नो ज्यान बचाउन दिशा बदलेर भाग्न खोज्दै थिई । सामुन्ने बाघ उभिरहेको थियो । अब उसका सबै बाटो बन्द भइसकेका थिए । यो नै मेरो अन्तिम समय हो । एकातिर आगो फैलिएको छ अर्कातिर नदी । फेरि अर्कोतिर सिकारीले बन्दुक ताकेको छ । अर्कोतिर बाघले पन्जा फैलाएको छ । उसका सामुन्ने संकट नै संकट थिए । जो सँग गुहार्नका लागि ईश्वर बाहेक अरु कोही थिएन ।
जिन्दगी दुई दिनको हो यसकारण भनिन्छ “एकदिन तपाईंको पक्षमा अर्को दिन तपाईंको विपक्षमा”। जुन दिन तपाईंको पक्षमा हुन्छ त्यो दिन अहंकारी नबन्नु र जुन दिन विपक्षमा हुन्छ त्यस दिन हतास पनि नहुनु । कठिनाइ यसकारण आउँछन् ताकि तपाईं अझै दुई कदम अगाडि बढ्न सक्नुहुन्छ । मृगिणीले सोची अब मर्नु त छँदैछ कायर भएर मर्दिन । उ सिकारीतर्फ उभिई आँखा बन्द गरेर त्यो पर्खाइमा कि कतिबेला गोली चल्ला । भगवान पुकार्न थाली भगवान !! मेरो जीवन तिम्रो हातमा छ । कमसेकम मेरो गर्भमा भएका बच्चाले तिम्रो सृष्टिको यो प्रकृतिलाई देख्न पाउन् । भनिन्छ नि जसले चमत्कारमा विश्वास राख्छ उसको जीवनमा चमत्कार हुन्छ । जङ्गलमा भइरहेको आगोको झिल्का अचानक शिकारीको आँखामा लायो ऊ अतालियो । ताकिरहेको बन्दुक पड्कियो । बन्दुक त पड्क्यो तर आगोको झिल्काबाट तिर्मिराइहेको सिकारीको निशाना मृगिणीबाट छुटेर अलि पर ढुकेर बसेको बाघलाई गएर लाग्यो । बाघ छटपटाउन थाल्यो। सिकारीको हातबाट बन्दुक खस्यो। फैलिँदै आएको आगोको डरले सिकारी त्यहाँबाट ज्यान बचाउन भाग्यो । मृगिणीका दोहोरै बाटा खुल्ला भए । ऊ त्यहाँबाट अगाडि बढी । केही समयपछि मौसम पनि बिस्तारै बदलिन थाल्यो । हावाहुरी रोकियो, पानी पर्न थाल्यो । आगो निभ्दै गयो । मृगिणीले एउटा सुरक्षित ठाउँ खोजेर आफ्ना बच्चाहरुलाई जन्म दिन सकी ।
यदि हार मानिएन भने हाम्रो अगाडि अर्को विकल्प पनि हुन्छ ।
– यो छोटो कहानी तर ठूलो पाठ सिक्न सकिन्छ । हामीमध्ये कैयौंलाई यस्तै अवस्था आउँछ । कहिलेकाहीँ चारैतिरबाट संकटले हेर्छ, घेर्छ । समस्यै समस्या देखिन्छन् । न समाउने हाँगो न टेक्ने डाली, न बस्ने ठाउँ, न निस्कने बाटो । दुखै दुःखले अँगालो हाले झैँ लाग्छ । यो चोट,पीडा यो समस्या मलाई मात्र किन भन्ने लाग्छ । अनेक सोचाइ आउँछन् मनमा । न रोएर जान्छन् न कसैले थाम्छन् । तर यहि नै जिन्दगी हो । सबैको जिन्दगीमा केही न केही पीडा छन् दुःख छन् , समस्या छन् अनि संघर्ष गरिरहेका छन् । अरुलाई हामीले जस्तो देखेका छौं त्यो त्यस्तो नहुन पनि सक्छ ।
– यो छोटो कहानीबाट सिक्न सकिने बुँदागत पाठहरू :
१) रात सधैँ उभिरहन सक्दैन उज्यालो भएरै छाड्छ । संकट संकट नै रहिरहँदैनन् त्यो पनि टरेर जान्छ।
२) आमा -जब आमा आफ्ना बच्चा जन्माउन चाहन्छिन् ईश्वरले पनि या त सुन्नुपर्छ या त हार्नुपर्छ …।
३) जब हृदयले भन्छ “सामना गर तिम्रो केही कसुर छैन” विजयको फुलमाला कसैले खोज्न सक्दैन ।
४) चमत्कार तिनको जिन्दगीमा हुन्छ जसले चमत्कारमा विश्वास गर्छ।
५) भरोसा हुनुपर्छ जिन्दगी जुनसुकै बेला फुल्न र फक्रिन सक्छ ।
जब यी संकटहरूबाट बाहिर निस्कन्छ तब मात्र जिन्दगीको महसुस हुन्छ । महसुस तब हुन्छ जब जिन्दगी दुख्न थाल्छ । दुखाइपछिको महसुस फेरि आरामदायी हुन्छ । समयले भन्छ एकदिन “तिमी ठिक थियौ, खराब त म आफै चलिरहेको थिएँ । आज हामीसंग यहि अवस्था छ । तर यो समय पनि निस्किएर जानेछ । यो अन्धकार हटेर जानेछ ।










