श्रीराम रानाभाट। कहिलेकाहीँ मन भड्किन्छ। मनले अनेक कुरामा उचाल्छ। बहकाउँछ। कहिलेकाहीँ गलत कदम उठाउँछ। गलत शब्द उच्चारण गराउँछ। गलत चिजमा या मोह जालमा फसाउँछ। सानो केही क्षणमा नै तृप्त भएर, मेटिएर जाने चिजमा मोहित गराउँछ र अन्ततोगत्वा यस्तो सजाय दिलाउँछ।
यो सजाय जीवनभर कलङ्कको टीका बन्छ। यो हाम्रो “मन” जुन हामीसँग छ, हामीसँगै हिँड्छ। हामी यसको इशारामा चल्छौं । यसको भरोसामा हिँड्छौँ तर यसले जहिले पनि हामीलाई हुने नहुने चिजमा डोर्याउँछ। जब त्यो चिज मेरा लागि हानिकारक या सजाययुक्त हुन्छ हाम्रो आफ्नै मनले धोका दिन्छ , छोडेर हिँडिदिन्छ। मनको काम गलत कर्म गर्न उचाल्ने मात्र हो पछार्ने काम त सजायले गरिहाल्छ।

आफ्नो मनलाई सुन्ने गर्नु भनिन्छ क्या… गलत। मनको काम भनेको हामीलाई उक्साउने मात्र हो। त्यो पनि परिणाम गलत निस्कने चिजमा। चोरी गर्न केले उक्साउँछ… मनले। कुनै पनि चिजमा गएर आनन्द महसुस गर केले भन्छ….मनले। ईर्ष्या,डाह, मोह…कुनै पनि चिजलाई पाउनका लागि, प्रयोग गर्नका लागि मनले कि धकेल्छ कि तान्छ । त्यो भन्दा नि दु:खको कुरा हामीले नगर्नु पर्ने सबै चिज गराउँछ र अन्त्यमा सजायको भागिदार बनाएर साथ छोडिदिन्छ। हामीलाई अरु कसैले धोका दिँदैन साथ छोड्दैनन् बदनाम गर्दैनन् र सजाय दिँदैनन्। दिन्छ त हाम्रो आफ्नो मनले। हामीबाट हुने हरेक गलत कर्म अपराध हाम्रो मनको कारण हुने गर्छन्। मन यति धोकेवाज छ जब कुनै चिजको अपराध बोध हुन्छ, सजाय मिल्ने अलाराम बज्छ, तब त्यो बेला समाउन खोज्यो, साथ देला भन्यो, एक झड्कामा साथ छोडिदिन्छ।
यदि जीवनमा मबाट कुनै गल्ती नहोस् ,अपराध नहोस् र कुनै पनि सजायको भागीदार बन्न नपरोस् भन्ने लाग्छ भने, मनको कुरालाई व्यवस्था गर्न चाहने हो भने हामीले जीवनमा दुईवटा परीक्षा दिनुपर्छ। यी परीक्षाको सार मैले शिब खेडा को पुस्तक “जीत तपाईंको” you can win -बाट लिएको छु । जुन वास्तविक छ, भरपर्दो छ।
दुईवटा परीक्षा :
१)आमा परिक्षा (mother test)-जब तपाईं कुनै ठाउँमा एक्लै या समूहमा जुन सुकै काम गर्दै गरेको भएपनि आफैलाई एउटा प्रश्न गर्नुहोस। मैले जे काम गरिरहेको छु त्यो काम मेरी आमाले देखिन भने गर्वले मलाई स्याबास छोरा/छोरी भन्लिन या मैले गरेको कामबाट लज्जित भएर टाउको निहुराउँछिन्….? यदि तपाईं यो परीक्षामा उत्तीर्ण हुनुभयो भने अरु जुनसुकै परीक्षामा अनुतीर्ण भएपनि केही फरक पर्दैन। तर यदि आमा परीक्षामा असफल हुनुभयो भने अरु जुनसुकै परीक्षामा सफल भएपनि त्यसको महत्व रहँदैन।
२) यदि आमा परिक्षा पास गर्न सकिन्न भन्ने लाग्छ भने अर्को परीक्षा छ बुवा परीक्षा (father test)- यदि तपाईँ घरमा या बाहिर एक्लै या समूहमा कसैसँग कुनै पनि काम गरिरहनुभएको छ भने त्यो प्रश्न आफैलाई गर्नुहोस् ‘यदि मेरा छोराछोरीले मैले जे काम गरिरहेको छु उनीहरूलाई गर्वका साथ देखाउन सक्छु। ताकि उनीहरू प्रेरित होउन। या उनीहरुले नदेखुन् भनेर लुक्छु या लुकाउन चाहन्छु। आमा परीक्षा, पहिलो चरणको परीक्षा यदि अनुतिर्ण भईएको थियो भने अर्को मौका ‘बुबा परिक्षा’। यदि यी दुवै परीक्षामा ती उत्तर हामीलाई हाम्रो मनले होइन विवेकले, बुद्धिले दिलाउँछ। हाम्रो विवेकले दिलाएको उत्तरमा पास भइयो भने हामी पछुताउनु पर्दैन। यो “मन” यही बुद्धिसँग मात्र हार्छ अरुसँग होईन।
यदि यी दुईवटै परिक्षामा सामेल होइन्छ, पास होइन्छ भने हामीबाट कहिलै पनि गलत कर्म हुँदैन, पाप हुँदैन, अपराध हुँदैन र सजायको भागिदार पनि हुनुपर्दैन ।










