श्रीराम रानाभाट। कुनै दार्शनिकले भनेका छन् ‘कोही मानिससँग पनि त्यस्तो कमजोरी छैन जो कहीँ कुनै समय उसैका लागि उपयोगी साबित नभएको होस्।’
एकजना ब्राह्मणले बाख्राको पाठो किनेर डोर्याएर घरतिर जाँदै थिए। बाटोमा तीनजना ‘ठगले’ ठगेर त्यो पाठो आफ्नो बनाउने योजना बनाए । सल्लाह अनुसार तीनजना तीनवटा मोडमा गएर बसे। पहिलो मोडको ठगले बाहुनलाई देख्ना साथ बिस्तारै भन्यो ‘दाइ नमस्कार ! निकै राम्रो सुँगुरको पाठो ल्याउनु भएछ कतिमा ल्याउनुभयो…? बाहुन बाजेको कम्पारो तात्यो । के वाइयात कुरा गरेको..? बाख्राको पाठोलाई सुँगुरको पाठो भन्ने ? मन नलागे नभन्नुस् दाई, मैले किन्न खोजेको त होइन । तर सुँगुरलाई सुँगुर भनेको मात्र हुँ’ भनेर ऊ आफ्नो बाटो लाग्यो ।

बाहुन बाजे पनि आफ्नो बाटो लागे । तर मनमा शङ्का भयो, कतै मलाई झुक्याउन त झुक्याएन..? आजको जमानामा विश्वास गर्न लायक त कोही छैन । पाठोलाई राम्रोसँग हेरे ।फेरि ढुक्क भए, के को सुँगुर हुन्थ्यो बाख्राको पाठो नै हो । बरु त्यही मूर्खले चिन्दो रहेनछ बाख्राको पाठो र सुँगुरको पाठो । अगाडि बढे । अर्को मोडमा पुगेपछि अर्को ठग भेटियो । ओहो दाई नमस्कार ! सुँगुरको पाठो त काइदाको ल्याउनुभएछ , कतिमा किन्नुभयो? उसलाई पनि त्यसरी नै हप्काए, नचाहिँदो कुरा नगर, बाख्राको पाठो देखिदेखि सुँगुर भन्छौ…? ठगले भन्यो “हैन है बाजे तपाई सुगुरको पाठो घिच्याइरहनु भएको छ दाम सोध्दा उल्टै थर्काउनु हुन्छ…? ‘बाहुनले बोक्यो भन्दैमा सुँगुर खसी हुने होइन क्यारे, जसरी पण्डितले भन्दैमा पैसा गाई हुन्छ’ भन्दै “ठग” आफ्नो बाटो लाग्यो ।
अब चाहिँ बाहुन बाजेको हंसले ठाउँ छोड्यो । बाहुनले पाठोलाई घरी काँधमा घरी डोर्याउँदै हिंडेका थिए । कता कता पाठो सुंगुरकै हो कि जस्तो पनि लाग्छ । धेरै कुरा मिल्दाजुल्दा जस्तो पनि लाग्छ । दुई दुई जनाले भनेको त त्यसै होइन होला । कतै मलाई व्यापारीले झुक्याउन त झुक्याएन….? फेरि अर्को मनले सोच्यो” बाख्रो पाल्ने कै घरमा गएर गतिलो बाख्राको जात भनेर छानेर ल्याएको पाठो कसरी सुँगुर हुन सक्छ,कसको हिम्मत हुन्छ यसरी ठग्न…? यो सुँगुर हुँदै होइन । के भएका आजकालका केटाहरु ? सुँगुर र बाख्रो पनि नचिन्ने । कुनै साजिस पो हो कि..। जेसुकै होस्,अगाडि बढे ।
तेस्रो मोडमा पुगेपछि भने पुरै विश्वास डगमगायो । जब अर्को मानिसले ( “ठग”)उसलाई केरकार गर्यो, ‘सुंगुर पाल्ने हो कि काट्ने हो कि, दान गर्ने….? निकै राम्रो रहेछ पाल्ने खालको । बाहुनको कम्पारो तात्यो । म ब्राह्मण हो । तँलाई थाहा छ कि छैन ? ब्राह्मणले न सुँगुर पाल्छन् न काट्छन् । जे पनि बोल्ने..? आँखा देख्दैनस् कि चिन्दैनस..? ठगले भन्यो ‘अरे बाहुन पो तपाईँ अझ ? किन थाहा छैन..? ब्राह्मणहरूले कारोबार गर्दैनन् सुंगुरको भनेर थाहा छ। तर तपाईँ त गर्नुहुँदो रहेछ । ल हिँड्नुहोस म तपाईंसँगै तपाईँको गाउँ जान्छु । गलत तपाईँ हुनुहुन्छ कि म । त्यो ठगको आत्मविश्वासले बाहुन बाजेलाई थरथर बनायो । आज मेरो आँखा बिग्रेछन् । छट्टुले बाख्राको पाठो भनेर सुँगुरको पाठो कसरी भिडायो…?भूतभूताउँदै काखी च्यापेको पाठो फुत्त भुइँमा फाले । पाठो म्याँ गर्दै गर्दा उनले च्यां गरेको सुने। अब शंका रहेन । भुइँको बाख्राको पाठो दुरुस्त सुँगुरको पाठो जस्तो । अब बाहुन बाजे त्यो केटालाई अनुनय विनय गर्न थाले ‘भाइ! यो कुरा कसैलाई नभन मैले बाख्राको पाठै भनेर किनेको हुँ तर त्यो फटाहाले मलाई ठगेछ…। आज मेरो आँखाले ठिकसँग काम गरेका छैनन् । यो सुँगुरको पाठो तिमी लैजाउ मलाई पैसा दिन पनि पर्दैन तर हेर ! अन्त हल्ला नगर,बाख्राको पाठो भनेर सुँगुरको पाठो ल्याएको थियो भनेर । त्यो ठगलाई के चाहियो । योजना सफल भयो र पाठो काखी च्यापेर भाग्यो । उता बाहुन बाजे ठगिएको भन्दा पनि इज्जत बचेकोमा खुसी हुँदै घरतिर लागे ।
आफूलाई विश्वास नगरेर अर्काको मतमा विश्वास गर्नेको हालत तिनै बाहुन बाजेको जस्तो हुन्छ । ऊ जिन्दगीमा ठगिन र दुःखी हुन अभिशप्त हुन्छ । तपाईं जब घरबाट कुनै कार्यक्रमका लागि निस्कनुहुन्छ कति पटक ऐना हेर्नुहुन्छ ? कुन कुन एङ्गलबाट हेर्नुहुन्छ ? सबै कुरा टिप टाप check, recheck. गरेर निस्कनुहुन्छ । जब कार्यक्रममा पुग्नुहुन्छ कसैले केही खोट देखायो, कुनै दाग देखायो भने तपाईंको बिहान ऐना हेर्दाको आत्मविश्वास पग्लिन्छ आइसक्रिम पग्लिएझैँ । कसैले तपाईंलाई दुःखी बनाउन या मजाक नै गरेर केही भनेकै भरमा आफैमाथिको विश्वास तोड्नुहुन्छ । छोराछोरीलाई बाबाआमाले जति अरुले बुझ्न सक्दैनन् तर उनीहरुलाई के लाग्छ भने ‘मलाई बुझ्ने अरु कोही छ’, त्यही भ्रममा धोका खाने गर्छन् । आफूमाथि विश्वास छ भने कसैसँग डराउनु पर्दैन । यदि विश्वास छैन भने अरुले हामीलाई डर देखाउछन् । आफूमाथि विश्वास नहुनु, आफ्नो कुरामा दृढ बन्न नसक्नु भनेको अरुको खेलाउन बन्नु हो । त्यसैले आफ्नो विश्वास मा अडिग रहन र आफूलाई विश्वास गर्न सिक्नुहोस् । आफ्नो खुट्टामा भरोसा गर्न सिक्नुहोस् । आफ्नो आँखामा भरोसा गर्न सिक्नुस्, आफ्नो क्षमतामा भरोसा गर्न सिक्नु भयो भने धोका खानु पर्दैन नत्र पाइलापाइलामा ठगिनु हुनेछ ।










