कृष्ण कुँवर। “जेनजी” आन्दोलनपछि दोस्रोपटक सामाजिक सञ्जाल मार्फत कांग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसलाई विचलित नहुन उत्साह दिएका छन्।
२३ गतेको आन्दोलनपछि जुन घटना घट्यो, त्यसमा आफ्नो पार्टी पनि दोषी भएको स्वीकार गर्दै, आफूमा लागेको अनुहारको दागलाई पुछनुपर्ने भन्दै त्यसबाट पाठ सिकेर आफूले नयाँ पुस्तालाई समेट्ने गरी काम गर्ने बताएका छन्।

नयाँ पुस्ताले हामीलाई किन पत्याएनन्? हामी यसको उत्तर खोज्छौं र सोही अनुसार गर्छौं। नेपाली काङ्ग्रेसलाई पुनर्निर्माण र पुनर्गठन गर्छौं। हाम्रो मन मिलेन अब मिलाउँछौं।
गगन थापाले आफ्नो पार्टीलाई आग्रह गर्दै भने – नेपाली कांग्रेसलाई शुद्धिकरण गरौं, कांग्रेस कानुनभन्दा माथि हुनै सक्दैन। अब कुनै निकायमा केही लाभ प्राप्त गर्न कांग्रेसले खोज्नेछैन। पार्टीको पुनर्संरचना गर्छौं गुट उपगुटको अन्त्य गर्छौं। अनावश्यक पार्टीका संस्थाहरु हटाउँछौँ।
आफ्ना नेताहरूको घर जलेको र कुटाई खानु परेको स्मरण गर्दै थापाले भने- हामी निकै कमजोर र खोक्रो भएछौँ। हामीलाई साथ दिनुहोस्। देशमा खरबौंको क्षति भएको छ पाँच वर्ष हामी पछि पर्यौं। यसलाई पुनर्संरचना गर्न जरुरी छ। अब हामी जवानहरूलाई र नेपाली नागरिकहरूको मनलाई जोड्ने काम गर्नेछौं।
यी कामहरू गर्नलाई यो नेतृत्व र संरचनाबाट असम्भव छ। नेतृत्व विधान सबै बदल्न जरुरी छ। हामीले प्रयत्न गरेकै हौँ तर परिणाम आएन। अब प्रयत्न मात्रै होइन परिणाम ल्याउने किसिमले काम गर्नेछौं। फेरि कांग्रेसलाई जनतामाझमा लोकप्रिय पार्टी बनाउँछौँ।
म ७७ जिल्लामा आउनेछु। यो पार्टीलाई बदल्न साथ दिनुहोस् हामी धुलो खरानी भएका छौं तर हामी यहाँबाट उठ्नेछौं, हामी घरबारविहीन भएका छौं तर पालमुनि बसेर भएपनि काम गर्छौं। हामीले पुनर्निर्माण गर्नेछौं। थापाले कार्यकर्तालाई निर्देशन दिँदै भने-तपाईँहरू आ-आफ्नो काममा लाग्नुहोस्, कुन ठाउँमा मद्दत चाहिएको छ, मद्दत गर्नुहोस्।










