काठमाडौँ। ‘हामी र हाम्रो कृति समाज’ को सामूहिक कृति ‘हामी र हाम्रो “मुक्तकसङ्ग्रह” सार्वजनिक भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा एक कार्यक्रमका बिच संस्थाले आफ्नो तेस्रो सामूहिक कृति मुक्तक संग्रहलाई सार्वजनिक गरेको हो।
वरिष्ठ साहित्यकार उषा शेरचन प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य गगन थापा, नेपाल मुक्त प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, उपाध्यक्ष वियोगी बुढाथोकी, लीलाध्यज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष, विजयध्वज थापा, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, सामाजिक अभियन्ता मोहन नेपाल, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, मुक्तकालय नेपालका अध्यक्ष निलाञ्जला भारद्वाज, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाललगायतका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

संस्थाको २२ औँ कृतिका रूपमा प्रकाशित यस कृतिमा १२३ जना स्रष्टाका १४७६ मुक्तकहरु सङ्गृहीत रहेका छन्। उक्त कार्यक्रममा लोकार्पित मुक्तकसङ्ग्रहको समीक्षा समालोचक एवम् इतिहासविद् प्रा.डा. गोविन्दमान सिंह कार्कीले गरेका थिए।
कार्यक्रममा संस्थाले ३ जना मुक्तककारहरूलाई जनही ११,१११ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो। संस्थाले सरुभक्त सम्मान पुरस्कारबाट किशन पौडेल, उषा शेरचन सम्मान पुरस्कारबाट मीना चौलागार्ईं र ज्ञानुवाकर पौडेल सम्मान पुरस्कारबाट शैलेन्द्रकुमार थापालाई पुरस्कृत गरेको छ।
यसैगरी संस्थाले दिव्य चक्षु साप्ताहिकका सम्पादक डा.अश्वत्थामा भक्त खरेल, दिव्य दर्शन राष्ट्रिय साप्ताहिकका सम्पादक सुशील तिवारी र रहस्य साप्ताहिकका सम्पादक मुक्ति बास्तोलालाई नगद तथा सम्मान पत्रले सम्मानित गरेको छ।
कार्यक्रममा संस्थाका सचिव बद्री उप्रेतीले उपस्थित सम्पूर्ण स्रष्टाहरूलाई शब्द सम्मान स्वागत गर्दै संस्थाले सञ्चालन गर्दै आईरहेका सकरात्मक गतिविधिहरूको प्रकाश पार्नुभयो।
‘हामी र हाम्रो कृति समाज’ का अध्यक्ष मदन नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सदस्य तथा मुक्तककार नवराज पोखरेल ‘नवशिला’ ले गर्नु भएको थियो।










