अहिलेका किशोर किशोरीहरू मनोविद( साइकोलोजिस्ट psychologist )को मा धाउन थालेका छन् । अध्ययनले भन्छ । किन धाउँछन्…? किनकि मनोदशा ठिक नभएर । आत्महत्या १० देखि २४ वर्षका किशोर किशोरले बढी गर्ने गर्छन् ? किन गर्छन् ? मनोदशा ठिक नभएर ।म यही सामाजिक कुरा वर्षौंदेखि गर्दै आएको छु तर विडम्बना यो सामाजिक समस्यालाई कतैबाट पनि सुनवाई हुँदैन । आफ्नै घर, परिवार आफ्ना आफन्तबाट कतैबाट पनि अनि परिणाम अनेक तरहका दुर्वेशनीमा फसेका छन् । यसको प्रभाव छोराछोरीलाई मात्र होइन दीर्घकालीन रुपमा अभिभावकलाई पनि परेको छ । के साँच्चिकै अभिभावकहरु आफ्ना सन्तानबाट सन्तुष्ट छन् त…?
सानो परिवार सुखी परिवारको नारामा जब भर्चुअल संसार (टेक्नोलोजी technology )जोडियो … व्यक्ति एक्लोपनबाट गुज्रे गुज्रिन थाल्यो । ऊसँग सबै कुरा छ । तर खाली खाली महसुस गर्न थालेका छन् । एकल परिवारका फाइदा पनि छन् । मनमर्जी गर्न पाइएको छ । कसैको दबाब छैन । मिठो खाने राम्रो लाउने मनोरञ्जन गर्ने सबैको बोझ र जिम्मेवारी उठाउन परेन। थोरै चिजलाई पनि बाँडीचुँडी गर्न परेन । सबै आफ्नो सबै आफूलाई । तर यही स्वतन्त्रता कति हानिकारक बनेको छ भन्ने कुराको सूक्ष्म अध्ययन र अनुसन्धान गर्ने हो भने घरघरको खुसी लुटिएको छ । यही स्वतन्त्रताकै कारण आज घरबार बिग्रिएको छ । सम्बन्ध टुटेको छ । इज्जतमा दाग लाग्ने गरेको छ । बालबालिकाहरुले गलत बाटो अपनाएका छन् । सानो परिवार भन्यो तर अहिलेको शिक्षा स्वास्थ्य रहनसहनको महंगाइले परिवारमा व्यवहार बढाएको छ जसले गर्दा श्रीमान श्रीमती दुवै कमाउन लाग्नुपर्यो । दूरी बढ्यो शारीरिक दूरी सँगसँगै मानसिक,भावनात्मक दुरी पनि बढ्दै जाने ।बाहिरी आकर्षण र प्रलोभनमा पर्ने । जसले सम्बन्ध विच्छेदको बाटो सँगसँगै बालबच्चामा दीर्घकालीन असर पारेको छ
।
पहिला पहिला बालबच्चा हुर्काउन जति सजिलो थियो अहिले छैन । पहिले एउटै परिवारले चार पाँच जना सन्तान सजिलै हुर्काउन सक्थे । आम धारणा के छ भने धेरै सन्तान हुँदा राम्रो स्याहार सुसार पुग्दैन । जबकि धेरै बच्चा भएमा एक आपसमा मिल्ने खेल्ने,हेरचाह गर्ने प्रवृत्ति हुन्थ्यो । उनीहरु आफू आफूमा खेलेर बस्थे । अभिभावकले अतिरिक्त समय दिन पर्दैनथ्यो । संयुक्त परिवारमा बच्चा हुर्कन्थे, मनका कुरा भावनात्मक कुरा सुन्न सुनाउनका लागि हजुरबा,हजुरआमा,काका काकी, फुपु फुपाजु हुन्थे । उनीहरु परिपक्क अभिभावकत्वमा हुर्कन्थे । कुनै पनि बेला एक्लै बस्नु पर्दैनथ्यो । परिवारकासदस्यहरूले साथसाथै समय बिताउने ,आफूलाई थाहा भए नभएका कुराहरूको जानकारी आदानप्रदान गर्ने, आमनेसाम्ने हुने, माया प्रेम दर्शाउने गर्थे । तर अहिलेका केटाकेटीलाई भिन्दै कोठामा बस्न सिकाइन्छ जहाँ उनीहरू कसैको रोकावट बिना आफूलाई मन परेका क्रियाहरु गर्छन् । आफ्नो मनमा उठेका भावनाहरूको बारेमा परिवारसँग होइन सामाजिक सञ्जालसँग साझेदारी गर्छन् ।

##सामाजिक सम्बन्ध :-आजका बालबच्चा आफ्ना आफन्त या गुरुजनलाई सम्बोधनका लागि प्रयोग गरिने आदारार्थी शब्द जानेका छैनन् ।आदरणीय,पूज्जनीय,शाष्टङ्ग दण्डवत कहाँ कसलाई प्रयोग गर्ने थाहा छैन । आफ्नो कोही आफ्ना अन्तसँग भेटघाट हुँदा कस्तो सम्बोधन गर्ने जानेका छैनन् । पहिले पहिले सम्बोधन गरिने शब्दहरू लोपोन्मुख हुँदै गएका छन् । हजुरबा हजुरआमा शब्द पनि हराउँदै गएकोछ । बोलाउनै पर्यो भने संकोच मानीमानी बोलाउँछन् । ठूलाबा -ठुलीआमा ,माइलाबा -माइली आमा ,काँईली आमा लोप हुँदै गए । अहिले त एउटै शब्द छ सबैलाई अङ्कल अन्टी । आफूलाई नौ महिना गर्भमा राखेर जन्माउने व्यक्तिलाई जनाउने शब्द हो आमा । आमा जस्तो ओझिलो शब्दको अर्थ नै परिवर्तन गरिदिएका छन् । आमा शब्दको प्रयोग नै सस्तो भएको छ । घरमा पाहुना आउँदा बच्चाहरू खुसी हुँदै अभिभावकलाई बोलाउन पुग्थे । सम्मानभावले नवआगन्तुकसँग अभिभावकले गरेका कुराहरु छेउमा बसेर सुन्थे । विद्यालयमा सिक्न नपाइने कुरा त्यो छोटो कुराकानीमा सुनेर सिक्थे । ती पाहुनाको को हुन् ? कहाँबाट आएका हुन् ? किन आएका हुन्….। तर अहिले को आयो को गयो, किन आयो चासो खाँचो राख्दैनन् । सीमित व्यक्तिलाई मात्र चिन्दछन् । दिनभरको स्कुल घरमा आयो मोबाइल या ल्यापटप । कोही पाउन आए नमस्ते गर ,भनेपछि नमस्ते गर्ने, आफ्नो कोठामा छिर्ने । अहिलेका केटाकेटी यस्तै हुन् भन्यो मन बुझायो । यस्तो व्यवहारले बच्चामा सामाजिक समस्या देखिन्छ
।
तुलनात्मक रूपमा पहिलेका केटाकेटीले भन्दा अहिलेकाले धेरै सुविधा उपभोग गर्न पाएका छन् । पढ्ने लेख्ने, मात्र होइन लाउन,खान घुमफिर गर्न, मनोरञ्जन गर्न,सुकिलो मुकिलो आधुनिक ग्याजेटहरुको उपलब्धता उपयोग गर्न पाएका छन् । भौतिक सुख सुविधा मनज्ञ रूपमा पाएका छन् । यसैको गोल चक्करमा बन्दी भएका छन् । मोबाइल इन्टरनेटको सजिलो उपलब्धताले हर कुराको नतिजा यथाशीघ्र उपलब्ध गर्न पर्ने बानीको विकास भएको छ । आफ्नो रुचि इच्छाअनुसारका कुराहरू यथाशीघ्र पूरा होस् भन्ने अपेक्षा राख्छन् । भिडियोमा हेरेजस्तो सुनेजस्तो सुविधा वस्तु प्राप्त र उपभोग गर्न चाहन्छन् तर व्यवहारिक जीवनमा यस्तो सम्भव हुँदैन । अनि यी कुराहरु नपाउँदा दुःखी भएका छन् किनकि भर्चुअल संसार र उनीहरूले बाँच्ने धरातल धेरै फरक छ ।
एकातिर आफूले चाहेजस्तो नपाउने,, अर्कातिर आफ्नो मनोभावना बुबाआमाले बुझेनन् भन्ने भ्रमले अहिलेका किशोर किशोरीहरुमा मानसिक असर परिरहेको छ र मनोविज्ञहरूकोमा धाउने गरेका छन् । डिप्रेसन र एन्जाइटीको शिकार हुने गरेका छन् । किशोर अवस्था चञ्चल हुन्छ ,लहडमा चल्छ त्यतिबेला उनीहरू अपरिपक्क निर्णय लिन्छन् जसले गर्दा सजिलै अनेक फन्दामा पर्न जान्छन् । जब समस्यामा पर्छन् त्यसबाट उम्कने एउटै बाटो रोज्छन् “आत्महत्या” । उनीहरुले आफ्नो जीवनलाई यति सजिलै समाप्त गर्न उक्साहट गर्ने कारण उनीहरूको बदलिरहने भावनात्मक स्थितिदेखि सजिलै पूरा नहुने अपेक्षा, सामाजिक सञ्जाल मार्फत हुने अनेक झन्झट र झमेला र क्षणिक आवेगमा गरिएका अनेक गम्भीर गल्तीहरु नै हुन् । इन्टरनेट स्मार्टफोनसँग एकाकार भएर केही फाइदा पनि भएका छन्। नयाँ साथी, नयाँ जानकारी ,प्रविधिसँग जोडिएका छन्। तर उनीहरूको शारीरिक र मानसिक विकासलाई प्रभावित बनाएको छ।मोबाइल इन्टरनेट टिभीमा गलत ढङ्गले समय बिताएका छन् । यसमा लिप्त छन् । नतिजा :- आफ्नो पढाइ सिकाई र व्यवहारिक जीवनबाट विमुख भइरहेका छन् । परिवार आफन्तबाट टाढिएका छन् ।सामाजिक जीवनबाट अलग हुँदैछन् । जीवन ,परिवार र समाजको मूल्यबोध गर्न सकेका छैनन् । बरु संस्कारबाट विमुख हुँदैछन् ।
केही बुँदागत समस्याहरू :
१) एउटै ठाउँमा घण्टौं बसेर मोबाइल टिभीमा लिप्त हुँदा शारीरिक र मानसिक विकास सही ढङ्गबाट हुँदैन । पुस्तक पढ्ने आफन्तसँग बातचीित गर्ने ,पारिवारिक माहोलमा रमाउने जस्ता गतिविधि नहुँदा उनीहरू एकोहोरिएका छन् ,जसले भावनात्मक विकासमा असर पुर्याएको छ …।
२) खासगरी सहरी क्षेत्रका बालबालिका घरभित्रै हुन्छन् । खेल्ने पढ्ने सबै काम घरभित्र हुन्छ। जसले गर्दा खेल्ने दौडने क्रियाकलाप छैन त , शारीरिक विकास पनि छैन ।
३) इन्टरनेटको सजिलो पहुँचका कारण चाहिने नचाहिने जानकारी लिएका छन् । चाहिने नचाहिने व्यक्तिसँग को सम्बन्ध ,जसका कारण उनीहरू असुरक्षित बन्दै गएका छन् …।
४) मोबाइल, टिभीमा लामो समय स्क्रिनमा बिताउँदा आँखामा असर परेको छ । अहिले विश्वका ८० प्रतिशत किशोर किशोरीमा यो समस्या देखिन्छ ।
उपाय:
अभिभावकले छोराछोरी किन उदास छन् ? किन एक्लै बस्न रुचाउँछन् ? के गर्दैछन् थाहा पाउनुपर्छ । साथै उनीहरूसँग घुलमिल हुने बातचीित गर्ने प्रयास गर्नुपर्छ । आफ्नो बालबच्चाहरू कस्तो मनोदशाबाट गुज्रिरहेका छन् ? कतै उनीहरू सामाजिक सञ्जालको झन्झटमा त परेका छैनन् या कसैको ब्ल्याकमेलमा परेका त छैनन् ? सामाजिक सञ्जालमा को र कस्तासँग लिप्त छन् ? यावत कुराहरूमा चनाखो हुनुपर्छ । छोराछोरीको मन र भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ । संवाद गर्नुपर्छ । खाने,बस्ने सुत्ने तालिका निश्चित गर्नुपर्छ र उनीहरुकै दैनिकीको हिस्सा बन्ने गर्नुपर्छ । जसले गर्दा यी र यावत समस्याहरु समाधान हुनेछन् । स्वतन्त्रता दिनुपर्छ तर यसलाई दुरुपयोग गर्न दिनुहुन्न । प्रेम गर्नुपर्छ तर प्रेम हाम्रा लागि नै समस्याको पासो नबनिदियोस् ।










