हिमांशु राय ,मोरङ । १८ औँ पुस्तकालय दिवसमा मोरङको लेटाङमा अन्तर विघ्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लेटाङको आयोजनामा संस्थाको आफ्नै सभाहलमा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको हो ।

कोसी साहित्य कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको उक्त प्रतियोगितामा लेटाङका अग्रज स्रष्टा विश्वनाथ शाक्य ‘पागल’, पुस्तकालयका सल्लाहकार तथा राजनीतिकर्मी दीपकचन्द्र राई, स्थानीय समाजसेवी युवराज तिम्सिना,मित्रप्रसाद बिमली, नेत्र केसी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि विरहीले बालबालिकामा सिर्जनशीलताको खाँचो रहेको र त्यो खाँचोलाई साहित्यिक पुस्तकले पूरा गर्ने बताए । लेखक तथा पत्रकार समेत रहेका उनले पठ्यक्रमका पुस्तकका अतिरिक्त अन्य साहित्यिक पुस्तक पनि पढ्ने बानीको विकास गर्न बालबालिकालाई अनुरोध गरे ।
‘मेरो पुस्तकालय मेरो भविष्य’ शीर्षकको कविता प्रतियोगितामा लिटिल फ्लावर इङ्ग्लिस स्कुलकी छात्रा आयुषा लामा प्रथम, जाते नमुना माविका छात्र समीप काफ्ले द्वितीय, लिटिल फ्लावर इङ्ग्लिस स्कुलका छात्र पारस कार्की तृतीय र श्री शिक्षा विकास माविका छात्र प्रज्वल निरौलाले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा लेटाङ नगरभित्रका विभिन्न १८ ओटा विद्यालयको सहभागिता रहेको थियो ।

विजयी प्रतियोगीहरूलाई पुस्तकालय उद्घाटनको अवसरमा आयोजित विशेष समारोहमा पुरस्कार वितरण गरिने आयोजक संस्थाका अध्यक्ष सुदेश वस्तीले जनाएका छन् ।
प्रतियोगितामा निर्णयकका रूपमा स्रष्टाहरू चिरञ्जीवी काफ्ले, नवराज पोखरेल ‘नवशिला’, गगन योक्पाङ्देन र दधिराम ढकाल रहेका थिए ।
प्रतियोगिता कार्यक्रमका संयोजक राजेश ढकालले उपस्थित सबैलाई शब्दले स्वागत गरेका थिए । शान्ति सामुदायिक पुस्तकालयका अध्यक्ष सुदेश वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव मनोस विश्वकर्माको रहेको थियो ।
२०६९ स्थापना लेटाङ पुस्तकालयका नामबाट सुरु भए पनि २०८० सालमा यसलाई शान्ति सामुदायिक पुस्तकालयको नाममा दर्ता गरिएको छ ।
रिड नेपालको प्राविधिक सहयोग र शान्ति भोलेन्टियर एसोसिएसन (क्लब) को आर्थिक सहयोगमा करिब २ करोडको लागतमा तीनतले सुविधा सम्पन्न पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएको छ । आगामी १३ गते जापानका राजदुतबाट यस पुस्तकालय भवनको विधिवत उद्घाटन हुँदै छ।










