१. गजल
सुख, दुःख, रोजगार, व्यापार मेरै देशमा गर्नु परोस्
पौरखी बनी श्रम पसिना यही देशमा छर्नु परोस् ।

द्वन्द्व, टकराव, निराशाहरू निर्मूल बनुन् जरैदेखि
बुद्धत्वको सन्देश छरी अशान्तिलाई हर्नु परोस् ।
सुन्दर देशका सर्जक हामी वीरताको गाथा हाम्रो
गर्व गरी छातीभित्र खुसीका रङ भर्नु परोस् ।
बाध्य नहुन् आकासिएर समुद्रपारि विमुख हुन
हाम्रै सुन्दर झरना खोला वारिपारि तर्नु परोस् ।
नहोस् मृत्यु विदेशमा नआउन् शव बाकसभरि
मृत्यु शाश्वत भए पनि आफ्नै देशमा मर्नु परोस् ।
२. गजल
मनमनै मनका कुरा मनसँगै गर्न सकिन्छ
नबोलेर पनि विचारहरू अक्षरमा छर्न सकिन्छ ।
मृत्युपछिको अवस्था गएका कसैले बताएनन्
कठिन परिस्थितिले मान्छे जिउँदै मर्न सकिन्छ ।
फरक छ जिन्दगी देखेर र भोगेर बाँच्नुमा
सुख, सम्पत्ति हुँदाहुँदै बज्रपातमा पर्न सकिन्छ ।
मपाईँत्व देखाई माथि छु भन्ने नठान्नुस् महोदय
अति घमण्डले पनि मान्छे तल झर्न सकिन्छ ।
महल हुनेहरूको जिन्दगी एउटैमा बित्न सक्छ
घरै नहुनेले त झन् छानीछानी डेरा सर्न सकिन्छ ।
३. गजल
कलिलो घाम छिप्पिँदै अस्ताउँदै हरेक बिहानी जान्छ
बिहानीसँगै घट्छ आयु यसैगरी जिन्दगानी जान्छ ।
छ न त योग्यता हासिल गरेको प्रमाणपत्र छ दराजमा
श्रम गर्न, फारम भर्न अघिअघि राहदानी जान्छ ।
यो देश बालक अनि वृद्धहरूको मात्र हुने भयो
उर्जा, उमङ्ग खर्च हुन्छ, परदेशमा उतै जवानी जान्छ ।
गरिब निमुखाले नै उठाए हतियार परिवर्तन गर्न
मन्त्री, सांसद, राजदूत हुन अक्सर बेइमानी जान्छ
फेरियो व्यवस्था जसरी, फेरिएन अवस्था त्यसरी
पात्र अनि प्रवृत्ति उही छ, न पुरानो बानी जान्छ ।
४. गजल
सङ्गत गर्न नहुँदोरहेछ भित्रभित्रै जल्ने मान्छेको
पिएर आँसु अरूको, आगो ओकल्ने मान्छेको ।
बदला लिनु पर्दैन कुनै, बस, बदलिए मात्र पुग्छ
कुरा सुन्न पनि हुँदैन धेरै भेष बदल्ने मान्छेको ।
आशा, भरोसा, विश्वास केही नराखे हुन्छ उसमा
हुन्छ मात्र कप्ट्याईँ, धुत्र्याइँ कुरा छल्ने मान्छेको ।
मख्ख पार्छन्, आश्वासन दिन्छन्, भर हुदैन
भावना, समस्या बुझे झैँ कुरा टोपल्ने मान्छेको ।
नसुनाउनु उन्नति योजना, बाधा हाल्न सक्छन्
गर्नु हुँदैन विश्वास खनेर जरै उखल्ने मान्छेको ।
५. गजल
मुस्कुराउँछन् साथीसङ्गी रुनुपर्छ मैले
ओभाना यी आँखाका डिल धुनुपर्छ मैले ।
तिम्रो भेट दुर्लभ भयो आकाशको जुनझैँ
मनोभावका स्पर्शले छुनुपर्छ मैले ।
बग्यौ तिमी नदी बनी सागर भेट्नलाई
कहिलेसम्म बलेँसीमै चुहुनुपर्छ मैले ।
तिमी फलको हाँगो बनी फल्यौ लटरम्म
कि फुल्दा फुल्दै फल नभई तुनुपर्छ मैले ।
गल्ती भए माफ गर अन्जान सम्झिएर
जगाइदेऊ भोक तिर्खा चुनुपर्छ मैले ।
६. गजल
घरिघरि मनलाई पनि फेरेर चित्त बुझाउँछु
अरूलाई’नि आफूजस्तै सम्झेर चित्त बुझाउँछु ।
सम्झिराखे पिरव्यथा निराश हुन्छ चेहरा
दिन आभाष केही नभा’को हाँसेर चित्त बुझाउँछु ।
मभन्दा धेरै दुःखी पीडितहरू पनि रहेछन्
कसरी हाँस्छन् होला तिनले सोचेर चित्त बुझाउँछु ।
एकान्तमा एक्लो हुँदा हुन्छ मनमा खटपट
आउने हरेक परिस्थितिसँग जुधेर चित्त बुझाउँछु ।
दुःखसुख साट्ने पनि हुन्छन् साथीभाइहरू
मनका भावहरू अक्षरमा कुँदेर चित्त बुझाउँछु ।
७. गजल
जब उठ्छन् मानवताका सयौँ सबालहरू
तयार हुन्छन् भत्काउनलाई मनका पर्खालहरू ।
पौरखी नौजवान बेचेर कमाए व्यापारीले
सम्झेर त्यही मुनाफा रमाउँछन् दलालहरू ।
कहिल्यै चर्चा चल्दैन असल काम गर्नेहरूको
भरिन्छन् देखावटी गर्नेले सामाजिक सञ्जालहरू ।
इज्जत फालेरै माग्छन् माग्नेहरूले पनि यहाँ
बेगारीसँगै माग्छन् अरे एयरपोर्टमा कङ्गालहरू ।
गरिदिन्छन् भर्ना सामान्य बिरामी पनि आईसीयूमा
बिरामी लानेलाई नै बिरामी बनाउँछन् अस्पतालहरू ।
सर्जक :- रमेश निरौला
मोरङ बेलबारी न.पा.










